सहिद दिवसको अवसरमा पाल्पामा सरसफाइ कार्यक्रम सम्पन्न

पाल्पा, माघ १६ – सहिद दिवसको अवसरमा पाल्पामा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका पदाधिकारी, जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुख,नागरिक समाजका अगुवाकाे सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमका वक्ताहरूले सहिदहरूले देखाएको मार्गलाई आत्मसात् गर्दै राष्ट्र निर्माणमा इमानदार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको थियाे ।

 

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद वीर बहादुर रानाले सहिद दिवसलाई संकल्पका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले सहिदहरूले देशको सार्वभौमिकता जनतामा निहित हुनुपर्छ भन्ने उद्देश्यका लागि बलिदान दिएका हुन्, जसलाई आजको परिवेशमा अर्थपूर्ण रूपमा लागू गर्न आवश्यक रहेको बताउनुभयो ।  सहिदहरूले बोकेका सपनालाई समयसापेक्ष रूपमा साकार पार्नुपर्ने भन्दै केवल सम्मानका शब्दहरू भन्दा उनीहरूको आदर्शअनुसार व्यवहारिक कार्यहरू गर्नुपर्नेमा जोड दिनुभयो । अहिले परिस्थिति चरित्र निर्माण गर्ने भन्दा चित्र काेर्नेमा केन्द्र रहेको बताउदै अब हरेक तप्काका निकायहरूले  “चित्र कोर्नेभन्दा चरित्र निर्माण गर्न जरुरी रहेको बताउनुभयो "।

 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले सहिदहरूले देखाएको बाटोमा लाग्नुपर्ने र आत्मअनुशासन कायम गर्दै आफ्नो कर्तव्य पालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सहिदहरूको योगदानलाई सम्मान गर्ने साँचो मार्ग भनेको उनैले देखाएको बाटो अवलम्बन गर्नु रहेको बताउनुभयाे । पाल्पाका प्रमुख जिल्ला अधिकारी तोया नारायण सुवेदीले नेपालमा प्रजातन्त्र प्राप्त गर्न सहिदहरूले पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार नेपालमा प्रजातन्त्रको स्थापनापछि धेरै उपलब्धि हासिल भए पनि जनअपेक्षा अनुसार सुधारका कामहरू पर्याप्त हुन नसकेको अनुभूति गरिएको बताउनुभयो । सहिदहरूले बलिदान दिएर देखाएको बाटोमा सिंगो समाज लाग्न सके मात्र सहिद दिवसको वास्तविक सम्मान हुने बताउदै सबै एकबद्व भइ सहिदहरूकाे सपना पूरा गर्ने तर्फ दिवसले प्रेरणा प्रदान गर्न सकाेस भनी शुभेच्छा व्यक्त गर्नुभयाे  । 

 

नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्षले पत्रकारिता तथा नागरिक सचेतनाका माध्यमबाट सहिदहरूको योगदानलाई जीवन्त राख्नुपर्ने बताउनुभयो । उहाले  नागरिकहरूको आवश्यकता पूरा गर्ने गरी नीति तथा कार्यक्रमहरू निर्माण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठले  सहिदहरूको योगदानको स्मरण गर्दै प्रजातन्त्र प्राप्तिका लागि नेपाली जनताले व्यहोर्नु परेको संघर्षबारे चर्चा गर्नु भएको थियाे । नगर प्रमुख श्रेष्ठले सहिदहरूले परिकल्पना गरेको न्यायपूर्ण समाज निर्माण अझै अधुरो छ, जसलाई पूरा गर्न सबै पक्षले इमानदार भूमिका निर्वाह गर्नुपर्ने आवश्यक बताउनुभयो । 

 

सहिद दिवसको अवसरमा आयोजित सरसफाइ कार्यक्रममा विभिन्न संघ-संस्था, स्थानीय तहका जनप्रतिनिधि,सरकारी निकायका प्रमुख, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले तानसेन टुडिखेल लगाएतका विभिन्न स्थानमा सरसफाइ गर्दै स्वच्छ वातावरणको आवश्यकताबारे जनचेतना जगाएका थिए ।

Comments