व्यवसायिक मौरीपालनतर्फ कृषक आकर्षित, रिब्दीकोट–७ मा अनुदानसहित मौरी र घार वितरण

पाल्पा-रिब्दीकोट गाउँपालिका वडा नं. ७ मा कृषकहरूको आयआर्जन वृद्धि, रोजगारी सिर्जना तथा व्यवसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मौरीघार वितरण कार्यक्रम सम्पन्न भएको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकहरूलाई मौरीसहितका घार वितरण गरिएको हो। मिति २०८३ साल वैशाख ३ गते वडा नं. ७ को डवका टोलमा आयोजित उक्त कार्यक्रममा स्थानीय कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो । यस कार्यक्रमले कृषकहरूलाई आत्मनिर्भर बनाउने र कृषिलाई आधुनिक तथा व्यवसायिक बनाउने लक्ष्य राखेको छ । कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की तथा वडा नं. ७ का वडा अध्यक्ष दान बहादुर कुवँरको विशेष उपस्थिति रहेको थियो । छनोट प्रक्रियाबाट योग्य ठहरिएका कृषकहरूलाई ८७ वटा मौरी सहित खाली मौरीघार वितरण गरिएको जानकारी वडा अध्यक्ष कुवँरले दिनुभयो । कार्यक्रममा सहभागी कृषकहरूले यस्तो सहयोगले आफूहरूलाई व्यवसायिक मौरीपालनतर्फ आकर्षित गरेको बताएका छन् । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कार्कीले कृषिमा आधारित अर्थतन्त्रलाई मजबुत बनाउन यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले कृषिलाई परम्परागत शैलीबाट आधुनिक र व्यवसायिक दिशातर्फ रूपान्तरण गर्न स्थानीय सरकारले विभिन्न योजनाहरू सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।  “मौरीपालन कम लगानीमा राम्रो आम्दानी दिने क्षेत्र हो, यसले कृषि उत्पादनमा परागणमार्फत सकारात्मक प्रभाव पार्नुका साथै वातावरण संरक्षणमा पनि टेवा पुर्‍याउँछ,” उहाँले भन्नुभयो । अध्यक्ष कार्कीले कृषकहरूलाई प्राप्त सामग्रीको सही उपयोग गर्दै उत्पादन वृद्धि र आम्दानी बढाउन आग्रह गर्नुभयो । त्यसैगरी वडा अध्यक्ष कुवँरले कृषकहरूको जीवनस्तर उकास्न मौरीपालन प्रभावकारी माध्यम बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वितरण गरिएको मौरीघारको उचित व्यवस्थापन र संरक्षण गर्न कृषकहरूलाई आग्रह गर्दै आवश्यक प्राविधिक सहयोग तथा तालिमको व्यवस्था पनि गरिने जानकारी दिनुभयो । मौरीपालनबाट उत्पादन हुने मह, मौरीमौस, र अन्य उप-उत्पादनहरूले बजारमा राम्रो मूल्य पाउने भएकाले कृषकहरूको आर्थिक अवस्था सुधार गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो । साथै, यस कार्यक्रमले गाउँमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै युवाहरूलाई कृषिमा आकर्षित गर्ने अपेक्षा गरिएको छ । 

 

स्थानीय कृषकहरूले पनि कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरूले मौरीपालन सुरु गर्न आवश्यक सामग्री प्राप्त भएपछि अब व्यवसायिक रूपमा अघि बढ्ने आत्मविश्वास बढेको बताएका छन् । कतिपय कृषकहरूले यसअघि सामान्य स्तरमा मौरीपालन गर्दै आएको भए पनि अब यसलाई विस्तार गर्ने योजना बनाएका छन् । उनीहरूले गाउँपालिकाबाट प्राप्त सहयोगले उत्पादन वृद्धि गर्न तथा बजारमा प्रतिस्पर्धा गर्न सजिलो हुने बताएका छन् । कृषकहरूको सक्रियता र लगनशीलताले यो कार्यक्रम अझ सफल हुने अपेक्षा गरिएको छ । यस कार्यक्रमले केवल कृषकहरूको आयआर्जन बढाउने मात्र नभई समग्र गाउँपालिकाको आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास गरिको गाउँपालिकाले जनाएको छ । 

Comments