त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको ७२औँ वार्षिकोत्सव सम्पन्न
पाल्पा-त्रिभुवन बहुमुखी क्याम्पस तानसेन, पाल्पाको ७२औँ वार्षिकोत्सव विविध कार्यक्रमका सम्पन्न भएको छ । सात दशकभन्दा लामो इतिहास बोकेको यस क्याम्पसले उच्च शिक्षाको विकास, दक्ष जनशक्ति उत्पादन तथा समाज रूपान्तरणमा पुर्याएको योगदानको स्मरण गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा जनप्रतिनिधि, पूर्व क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख तथा त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सन्तोषलाल श्रेष्ठले क्याम्पससँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्नुभयो । उहाँले क्याम्पसको स्थापना कालदेखि हालसम्मको गौरवपूर्ण इतिहास स्मरण गर्दै त्रिभुवन बहुमुखी क्याम्पस पश्चिमाञ्चल क्षेत्रकै उच्च शिक्षाको विकासको आधारशिला बनेको बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्दै हजारौँ दक्ष जनशक्ति उत्पादन गरी देश तथा विदेशका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम जनशक्ति तयार पार्न क्याम्पसले महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो ।
उहाँले शिक्षा र स्वास्थ्य कुनै पनि समाजको समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्दै तानसेन नगरपालिकाले यी दुवै क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । गुणस्तरीय शिक्षाको विकासका लागि स्थानीय सरकार सदैव सकारात्मक रहेको उल्लेख गर्दै त्रिभुवन बहुमुखी क्याम्पसका लागि तानसेन नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । आगामी दिनमा पनि क्याम्पसको शैक्षिक, भौतिक तथा संस्थागत विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय सरकार र शैक्षिक संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले त्रिभुवन बहुमुखी क्याम्पस केवल शैक्षिक संस्था मात्र नभई समाज रूपान्तरणको केन्द्रका रूपमा स्थापित भएको बताउनुभयो। सात दशकको यात्रामा क्याम्पसले शिक्षा, अनुशासन र सामाजिक उत्तरदायित्वलाई सँगै अघि बढाएको उल्लेख गर्दै आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ उचाइमा पुर्याउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको उहाँले बताउनुभयो । पूर्व क्याम्पस प्रमुख केशवराज शर्माले क्याम्पसले आफ्नो इतिहाससँगै भविष्यलाई पनि उत्तिकै जिम्मेवारीपूर्वक अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । क्याम्पसप्रतिको समुदायको विश्वासलाई अझ बलियो बनाउँदै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न सबै एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख जीवनबहादुर थापा, धनेन्द्रराज घिमिरे, स्वतन्त्र विद्यार्थी युनियनका सभापति मिलन घर्ती ,प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अध्यक्ष तथा क्याम्पस प्रमुख टंक पन्तले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसले एक वर्षको अवधिमा हासिल गरेका शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधार विकासका उपलब्धिबारे जानकारी गराउनुभयो । उहाँले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै सूचना प्रविधिमैत्री शिक्षण, अनुसन्धान, शैक्षिक वातावरण सुधार तथा विद्यार्थीमैत्री कार्यक्रम सञ्चालनमा क्याम्पसले निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले पछिल्लो समय क्याम्पसमा विभिन्न शैक्षिक कार्यक्रम विस्तार, भौतिक पूर्वाधार सुधार, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिइएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय र प्रतिस्पर्धी शैक्षिक संस्था निर्माणका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । समुदाय, पूर्वविद्यार्थी, स्थानीय सरकार तथा सरोकारवाला निकायको सहयोगले क्याम्पसको विकास यात्रालाई थप प्रभावकारी बनाएको उहाँले उल्लेख गर्नुभयो । वार्षिकोत्सवका अवसरमा क्याम्पसको शैक्षिक उन्नयन,उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रम क्याम्पस प्रमुख टंक पन्तको अध्यक्षता तथा विद्यार्थी पुष्कर आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।









































Comments