पहिलो पाइला नेपाल तानसेन शाखाद्वारा अमर नारायण मन्दिर परिसर सरसफाइ

पाल्पा-सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै पहिलो पाइला नेपाल तानसेन शाखाले तानसेनस्थित अमर नारायण मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, स्वच्छ वातावरण निर्माण र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि पहिलो पाइला नेपालका केन्द्रीय उपाध्यक्ष अबिर कुवरले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सबै नागरिकको साझा दायित्व भएको बताउनुभयो । उहाँले सरसफाइ केवल एकदिने अभियान नभई दैनिक जीवनशैलीको हिस्सा बन्नुपर्ने उल्लेख गर्दै यस्ता अभियानले युवामा सामाजिक सेवाप्रति जिम्मेवारी र नेतृत्व विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । “स्वच्छ मन्दिर, स्वच्छ समाज र स्वच्छ सोच निर्माणका लागि यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक छ,” उहाँले भन्नुभयो ।

 

विशिष्ट अतिथि नारायण युवा क्लबका संस्थापक अध्यक्ष एवं समाजसेवी हिमाल दत्त श्रेष्ठले युवाहरू समाज परिवर्तनका प्रमुख संवाहक भएको बताउनुभयो । उहाँले सामाजिक संस्थाहरूबीचको सहकार्यले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै धार्मिक सम्पदाको संरक्षणसँगै वातावरणीय सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो । “सामाजिक सेवामा युवाको सक्रियता बढ्दै जानु सुखद पक्ष हो । सबै संस्थाले हातेमालो गर्दै यस्ता अभियानलाई नियमित बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।

 

कार्यक्रमका अतिथि तथा अमर नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज पौड्यालले मन्दिर परिसर सरसफाइ अभियान सञ्चालन गरेकोमा पहिलो पाइला नेपाल तानसेन शाखाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले धार्मिक स्थलको सफाइ र संरक्षणमा स्थानीय समुदाय तथा सामाजिक संस्थाहरूको निरन्तर सहयोग आवश्यक रहेको बताउँदै यस्ता अभियानले मन्दिरको गरिमा बढाउनुका साथै भक्तजनलाई पनि सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा नारायण युवा क्लबका अध्यक्ष विनायक महर्जन, पहिलो पाइला नेपालका कोषाध्यक्ष आकाश श्रेष्ठ लगायत विभिन्न सामाजिक अभियन्ता, युवा तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सहभागीहरूले मन्दिर परिसर, वरपरका सडक, खुला स्थान तथा फोहोर संकलन गरी वातावरण सफा बनाउनुभएको  थियो । साथै सार्वजनिक स्थल सफा राख्ने, फोहोरको उचित व्यवस्थापन गर्ने र वातावरण संरक्षणमा सबैले जिम्मेवार बन्नुपर्ने सन्देशसमेत प्रवाह गरिएको थियो ।

 

पहिलो पाइला नेपाल तानसेन शाखाकी अध्यक्ष बबिता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने संस्थाको प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूले बताउनुभयो । सस्थाले आगामी दिनमा पनि सरसफाइ, वातावरण संरक्षण, सामाजिक जागरण तथा जनचेतनामूलक अभियानलाई निरन्तर सञ्चालन गर्ने जनाएको छ । 

Comments