नेपाल विद्यार्थी संघद्वारा त्रिभुवन बहुमुखी क्याम्पसमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न

पाल्पा-नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस तानसेन, पाल्पा इकाइको आयोजनामा क्याम्पस परिसरमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा विद्यार्थीमा प्रकृतिप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कपुर, धुपी, सल्ला, अमला, चिउरी लगायतका विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका थिए। कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति एवं नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले वर्तमान सत्तारूढ दलको सरकारले  पछिल्लो समय विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। विद्यार्थी संगठनहरू विद्यार्थीका हक, हित र अधिकारको संरक्षण तथा नेतृत्व विकासका लागि स्थापित लोकतान्त्रिक संस्था भएकाले यस्ता संगठनको भूमिकालाई कमजोर बनाउने कुनै पनि प्रयास उचित नहुने बताउनुभयो। लोकतान्त्रिक मूल्य, मान्यता र विद्यार्थी अधिकारको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले वृक्षरोपणजस्ता रचनात्मक कार्यक्रमहरूले विद्यार्थी संगठनहरू केवल आन्दोलनमा सीमित नभई समाज र वातावरणप्रति पनि उत्तिकै जिम्मेवार रहेको सन्देश दिएको बताउनुभयो। लोकतान्त्रिक संस्कार, वातावरण संरक्षण र सामाजिक सेवामार्फत सक्षम नेतृत्व निर्माण गर्न विद्यार्थीहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

 

विशिष्ट अतिथि त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका विज्ञान संकायका सहायक क्याम्पस प्रमुख पितबहादुर नेपालीले वातावरण संरक्षणका लागि वृक्षरोपण प्रभावकारी अभियान भएको बताउनुभयो। बिरुवा रोप्नु मात्र पर्याप्त नभई त्यसको संरक्षण र संवर्द्धन गर्नु अझ महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई वातावरण संरक्षणका अभियानमा निरन्तर सक्रिय रहन आग्रह गर्नुभयो। नेपाली कांग्रेस पाल्पाकी सचिव सुनिता अधिकारीले वातावरण संरक्षण वर्तमान समयको साझा दायित्व भएको बताउनुभयो। विद्यार्थीहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उहाँको भनाइ थियो।

 

पूर्व स्ववियु सभापति हरिबोल भट्टराईले विद्यार्थी संगठनहरू आन्दोलनका लागि मात्र नभई सामाजिक रूपान्तरण, जनचेतना अभिवृद्धि तथा वातावरण संरक्षणजस्ता रचनात्मक कार्यमा पनि अग्रसर रहँदै आएको बताउनुभयो। उहाँले रोपिएका बिरुवाको संरक्षणमा सबैको समान जिम्मेवारी रहने धारणा राख्नुभयो। स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका सभापति मिलन घर्ती मगरले विद्यार्थी संगठनहरू शैक्षिक, सामाजिक तथा वातावरणीय अभियानमा सदैव अग्रपङ्क्तिमा रहेको बताउनुभयो। नेपाल विद्यार्थी संघले सञ्चालन गरेको वृक्षरोपण कार्यक्रम समयसापेक्ष र अनुकरणीय रहेको उल्लेख गर्दै क्याम्पसलाई हराभरा र वातावरणमैत्री बनाउने अभियानमा सम्पूर्ण विद्यार्थीको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस तानसेन, पाल्पाका इकाइ सदस्य प्रियकरमुनि शाक्यले नेपाल विद्यार्थी संघ स्थापना कालदेखि नै लोकतन्त्र, विद्यार्थी अधिकार, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणका अभियानमा अग्रणी भूमिका खेल्दै आएको बताउनुभयो। सोही गौरवशाली परम्परालाई निरन्तरता दिँदै वृक्षरोपणजस्ता वातावरण संरक्षणका अभियानलाई पनि नेपाल विद्यार्थी संघले प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्नुभयो। उहाँले समाज र वातावरणप्रति उत्तरदायी बन्न सबै विद्यार्थीलाई यस्ता अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो

कार्यक्रममा पूर्व स्ववियु सदस्य गिरिजा गैरे, त्रिभुवन बहुमुखी क्याम्पस कर्मचारी संघका सभापति डुकुलराज ढकाल , नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका इकाइ सदस्यहरू अविर कुँवर, बबिता थापा, नवीन थापा, राजन गैरे, आर्यतारा शाक्य लगायत विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका इकाइ सदस्य तथा स्ववियु सदस्य नवीन थापाको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन बबिता थापाले गर्नुभएको थियो भने नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका इकाइ सभापति पुण्यप्रसाद सुवेदीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा रोपिएका कपुर, धुपी, सल्ला, अमला, चिउरी लगायतका बिरुवाको संरक्षण गर्दै क्याम्पस परिसरलाई हराभरा र वातावरणमैत्री बनाउने प्रतिबद्धता सहभागीहरूले व्यक्त गर्नुभयो।

Comments