सर्वोच्चको अन्तरिम आदेशः माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थी पुनः कामकाजमा
पाल्पा, सर्वोच्च अदालतले माथागढी गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार पन्थीको पद रिक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगले गरेको पद रिक्त गर्ने निर्णय कार्यान्वयन नगर्न तथा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म पन्थीलाई वडाध्यक्षको हैसियतमा नियमित कामकाज गर्न दिन आदेश दिएको हो । साथै, उत्प्रेषणको आदेश जारी गर्दै निर्वाचन आयोग र नेकपा (एमाले) लाई कारण देखाऊ आदेशसमेत जारी गरिएको छ ।
यसअघि निर्वाचन आयोगले २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित पन्थीले दल त्याग गरेको भन्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम उनको पद स्वतः रिक्त भएको सूचना प्रकाशित गरेको थियो। एमाले केन्द्रीय सचिवालयबाट पन्थीले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी प्राप्त भएपछि आयोगले उक्त निर्णय सार्वजनिक गरेको जनाएको थियो ।
तर पन्थीले आफू कुनै पनि राजनीतिक दलमा प्रवेश नगरेको तथा सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा र ‘जेनजी’ आन्दोलनप्रति समर्थन जनाएको आधारमा मात्र आफूलाई कारबाही गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। अदालतको आदेशसँगै मुद्दाको अन्तिम फैसला नभएसम्म राजकुमार पन्थीले माथागढी गाउँपालिका–१ का वडाध्यक्षका रूपमा नियमित रूपमा कामकाज गर्न पाउने भएका छन । पन्थीले बिहीबारदेखि वडा कार्यालयमा नियमित रूपमा कामकाजमा फर्किने बताए। उनले भने, “म अहिले काठमाडौंमै छु। जनताको मत र विश्वासबाट निर्वाचित भएको हुँ। कुनै दल विशेषभन्दा पनि जनतासँग रहेर निरन्तर सेवामा समर्पित रहनेछु।”अब यस मुद्दाको अन्तिम टुङ्गो सर्वोच्च अदालतको पूर्ण सुनुवाइ र अन्तिम फैसलाबाट लाग्नेछ।









































Comments