पाल्पा सि.वि.आर.मा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री हस्तान्तरण
पाल्पा, तानसेन नगरपालिका वडा नं. ४ को आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनलाई सहज, सुरक्षित र आत्मनिर्भर बनाउन सहायक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत आवश्यकता पहिचानका आधारमा ह्वीलचेयर, म्याट तथा अपाङ्गमैत्री कुर्ची वितरण गरिएको थियो। वितरण गरिएका सामग्रीले लाभग्राहीहरूको आवतजावत, बसाइ तथा दैनिक क्रियाकलापलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिङ्जालीले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक जीवनयापनका लागि आवश्यक सेवा, सुविधा र अवसर उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो। उहाँले समावेशी विकासको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै आवश्यकता आधारित कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो। सहायक सामग्री वितरणले लाभग्राहीहरूको आत्मनिर्भरता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा पाल्पा सि.वि.आर.का सल्लाहकार बुद्धि प्रसाद शर्माले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने बताउनुभयो। यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत कौशलराज घिमिरेले नगरपालिकाले सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै अपाङ्गता भएका व्यक्तिहरू लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। आवश्यकता अनुसार सहायक सामग्री उपलब्ध गराउने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो । त्यसैगरी पाल्पा सि.वि.आर.का कार्यालय प्रमुख कृष्ण गहतराजले समुदायमा आधारित पुनःस्थापना कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, पुनःस्थापना तथा सामाजिक सहभागिता अभिवृद्धिका लागि संस्था निरन्तर क्रियाशील रहेको बताउनुभयो। यस्ता कार्यक्रमले लाभग्राहीहरूको जीवनलाई थप सहज बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो।
पाल्पा सि.वि.आर.की कोषाध्यक्ष अनुराधा बज्राचार्यले अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतालाई केन्द्रमा राखेर सञ्चालन गरिएका कार्यक्रमले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि सबै पक्षको सहकार्यबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रमका अध्यक्ष तथा तानसेन नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले वडाभित्र रहेका अपाङ्गता भएका नागरिकहरूको आवश्यकता पहिचान गरी सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समावेशी समाज निर्माणका लागि स्थानीय तहले सबै नागरिकप्रति समान उत्तरदायित्वका साथ काम गरिरहेको बताउनुभयो । वडा सदस्य सीता बस्नेतको सञ्चालनमा सम्पन्न कार्यक्रममा पाल्पा सि.वि.आर.सँग आबद्ध पदाधिकारी, जनप्रतिनिधि, सरोकारवाला तथा लाभग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा वितरण गरिएका सहायक सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज, सुरक्षित र सम्मानजनक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।









































Comments