गौरवशाली इतिहास सम्झाउँदै पदयात्रा तानसेन प्रवेश

पाल्पा — श्री दि फेमस महिन्द्र दल गणद्वारा आयोजना गरिएको “ऐतिहासिक गोरखा–जितगढी पदयात्रा कार्यक्रम” अन्तर्गत टोली आज माथागढी गाउँपालिकाबाट तानसेन नगरपालिकाको क्षेत्रमा प्रवेश गरेको छ । देशको ऐतिहासिक धरोहर र वीरताको गाथा सम्झाउने उद्देश्यले सञ्चालन गरिएको उक्त पदयात्राले स्थानीयवासीको ध्यान आकर्षित गरेको छ । 

 

केलादीघाट–नुवाकोटगढी हुँदै अघि बढेको पदयात्रा टोलीलाई विभिन्न स्थानमा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारणले स्वागत गरेका छन् । कार्यक्रममार्फत गोरखा राज्यको एकीकरण अभियान र जितगढीको ऐतिहासिक युद्धको स्मरण गराउँदै राष्ट्रिय एकता, अनुशासन र देशभक्तिको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । 

 

पदयात्रामा सहभागी टोलीले यात्रा क्रममा विभिन्न ऐतिहासिक स्थलहरूको अवलोकन गर्दै ती स्थानहरूको महत्वबारे जानकारी आदानप्रदान गरिरहेका छन् । यसले नयाँ पुस्तालाई इतिहासप्रति जागरूक बनाउने अपेक्षा गरिएको छ । तानसेन क्षेत्रमा प्रवेशसँगै पदयात्राले थप उत्साह पाएको छ भने स्थानीय स्तरमा पनि यसको सकारात्मक प्रभाव देखिएको छ ।

Comments