खेलकुद विकासतर्फ तानसेनको कदम: मेयर कप २०८३ शुरू, मेयर सन्तोष लाल श्रेष्ठद्वारा उद्घाटन

पाल्पा-तानसेन नगरपालिकाको आयोजनामा तानसेन नगर स्तरीय तेस्रो मेयर कप रनिङ शिल्ड प्रतियोगिता – २०८३ भव्य रूपमा शुरू भएको छ । नगरभित्रका विद्यालय, क्लब तथा युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले तानसेनमा खेलकुदप्रति नयाँ उत्साह र ऊर्जा थपेको छ । उद्घाटन समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो, जहाँ खेलाडी, शिक्षक, जनप्रतिनिधि, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवातसँगै मैदानमा देखिएको जोश, अनुशासन र प्रतिस्पर्धात्मक वातावरणले नगरको खेल संस्कृतिलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । प्रतियोगिताले स्थानीय स्तरमै लुकेका प्रतिभालाई उजागर गर्ने र उनीहरूलाई उच्च स्तरसम्म पुर्‍याउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

 

उद्घाटन गर्दै नगर प्रमुख सन्तोष लाल श्रेष्ठले मेयर कप रनिङ शिल्डलाई केवल खेलकुद प्रतियोगिता मात्र नभई युवाहरूको क्षमता विकास, अनुशासन निर्माण र सामाजिक एकताको महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाले खेलकुदले व्यक्तित्व विकाससँगै समाजमा सकारात्मक ऊर्जा फैलाउने भएकाले नगरपालिकाले यसलाई प्राथमिकतामा राखेर निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । नगर प्रमुख श्रेष्ठले तानसेन नगरलाई खेलकुदमैत्री नगरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको दोहोर्याउँदै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्नुभयो । उहाले स्थानीय प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले आवश्यक सहयोग र पूर्वाधार विकासमा ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

 

त्यसैगरी विशिष्ट अतिथि नगर उपप्रमुख प्रतिक्षा सिङ्जालीले खेलकुदले युवाहरूमा अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्ने बताउनुभयो । उहाले यस्ता प्रतियोगिताले सामाजिक एकता मजबुत बनाउने मात्र नभई महिला तथा युवाहरूको सहभागिता बढाउन पनि महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले प्रतियोगिता व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा सञ्चालन गरिने जानकारी दिँदै खेलाडीहरूको सुरक्षा र सुविधालाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।

 

प्रतियोगितामा क्रिकेट, भलिबल, फुटबल, ब्याडमिन्टन तथा शारीरिक सुगठन जस्ता विभिन्न खेल विधा समावेश गरिएको छ । विभिन्न विद्यालय तथा क्लबका खेलाडीहरूले आ–आफ्नो प्रतिभा प्रदर्शन गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख कोपिला न्याैपानेले प्रतियोगिताको उद्देश्य केवल विजेता घोषणा गर्नु मात्र नभई स्थानीय स्तरमै प्रतिभा पहिचान गरी उहाहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने आधार तयार गर्नु रहेको बताउनुभयो । खेलकुद अभियानले तानसेन नगरलाई खेलकुद विकासको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताले खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धा, मित्रता र अनुशासनको भावना विकास गर्दै नगरको खेल भविष्यलाई थप उज्यालो बनाउने विश्वास गरिएको छ । 

Comments