तानसेनमा विद्यालय आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रम, शिक्षकलाई चार दिने तालिम सम्पन्न

पाल्पाको तानसेन नगरपालिकामा विद्यालयलाई विपद् जोखिम न्यूनीकरणको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले चार दिने प्रशिक्षक प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स) कार्यक्रम सम्पन्न भएको छ। तानसेन नगरपालिका–३ स्थित पद्म पब्लिक नमुना माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रम तानसेन नगरपालिकाको आयोजना, सिटीनेट (CityNet), साझेदारी डिजाइन तथा सिर्जनात्मक केन्द्र, कोबे जापान (प्लस आर्ट्स सेन्टर फर पार्टनरसिप डिजाइन एन्ड क्रियटिभ सेन्टर, कोबे), र विपद् शिक्षा प्रवर्द्धन कार्यालय, ललितपुर नेपालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। कार्यक्रममा नगरभित्रका विभिन्न माध्यमिक विद्यालयका शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले विद्यालयलाई सिकाइ केन्द्रका रूपमा विकास गर्दै विपद् सम्बन्धी ज्ञान, सीप र तयारीलाई संस्थागत गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले विपद् जोखिम न्यूनीकरण आजको अपरिहार्य आवश्यकता भएको बताउनुभयो । उहाँले शिक्षक र विद्यार्थीमार्फत समुदायमा सचेतना फैलाउने उद्देश्यले यस्तो तालिम सञ्चालन गरिएको स्पष्ट पार्दै यसले दीर्घकालीन रूपमा ठूलो सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख श्रेष्ठले तानसेन नगरपालिकाभित्रका ३१ वटा माध्यमिक विद्यालयमा कार्यक्रम विस्तार गरिने जानकारी दिनुभयो। साथै, पद्म पब्लिक नमुना माध्यमिक विद्यालयमा विपद् स्रोत केन्द्र स्थापना गरिने र उक्त केन्द्रमार्फत आगामी दिनमा विभिन्न जनचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । 

 

कार्यक्रमका विशिष्ट अतिथि तथा उपप्रमुख प्रतिक्षा सिङ्जालीले विपद् व्यवस्थापनका क्षेत्रमा नगरपालिकाले नवीन अभ्यास सुरु गरेको बताउनुभयो । उहाँले यो कार्यक्रम नेपालमै पहिलो पटक विद्यालयमा आधारित रूपमा कार्यान्वयन गरिएको उल्लेख गर्दै यसले विद्यालयबाट समुदायसम्म जागरूकता फैलाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले नगरपालिकाले पहिलो पटक यस्तो कार्यक्रम ल्याएको जानकारी दिँदै विद्यालय र समुदायलाई जोडेर विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्य रहेको बताउनुभयो। उहाँले नगरका ३१ वटा माध्यमिक विद्यालयमा ‘मावि विपद् युनिट’ गठन गरिने र यसले स्थानीय तहमा विपद् व्यवस्थापनलाई संस्थागत गर्ने अपेक्षा गरिएको बताउनुभयो।

 

कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सागरमान महर्जनले विपद् अनिश्चित हुने भएकाले पूर्वतयारी नै सबैभन्दा महत्वपूर्ण उपाय भएको बताउनुभयो। सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। शिक्षक सकुन्तला क्षेत्री कुँवरले तालिमबाट सिकेका कुरालाई विद्यालय र समुदायस्तरमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, दमकडा माध्यमिक विद्यालयका शिक्षक दिनेश बस्यालले तालिमले विद्यालय, समुदाय र समाजलाई विपद्का समयमा सजग बनाउन सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले कार्यक्रमलाई नगरपालिकाको वार्षिक क्यालेन्डरमा समावेश गरी निरन्तरता दिनुपर्ने सुझाव पनि दिनुभयो।

 

कार्यक्रमका प्रशिक्षक दीपक मरट्टाले त्रिपक्षीय सहकार्यअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै विद्यालयलाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी सिकाइ केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। तालिममा विपद् पूर्वतयारी, जोखिम पहिचान, उद्धार तथा सुरक्षित व्यवहार, विद्यालय विपद् व्यवस्थापन योजना निर्माण र अभ्यास (ड्रिल) सञ्चालन जस्ता विषय समेटिएका थिए। यस कार्यक्रममार्फत शिक्षकहरूमा व्यवहारिक ज्ञान र सीप विकास भएको तानसेन नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत बिष्णु पौडेलले बताउनुभयो । तानसेन नगरपालिकामा सुरु गरिएको यो पहलले विद्यालयलाई विपद् व्यवस्थापनको आधार केन्द्रका रूपमा स्थापित गर्दै समुदायस्तरमा सचेतना फैलाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Comments