राजन थापा क्षेत्रीको नयाँ गीत “आमा हो” मातातीर्थ औंसीमा सार्वजनिक

पाल्पा-मातृत्वको सम्मान र आमाप्रतिको सम्मानलाई समर्पित मातातीर्थ औंसीको पावन अवसरमा गायक तथा सर्जक राजन थापा क्षेत्रीले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । उनले आफ्नो तेस्रो कोसेलीका रूपमा “आमा हो” शीर्षकको गीत श्रोता तथा दर्शकमाझ प्रस्तुत गरेका हुन् । यस गीतमा लय, शब्द तथा स्वर स्वयं राजन थापा क्षेत्रीकै रहेको छ। आफ्नै सिर्जनामा आधारित भएकाले गीतमा गहिरो भावनात्मकता र यथार्थपरक अनुभूति झल्किन्छ। आमाप्रतिको माया, त्याग, समर्पण र निस्वार्थ प्रेमलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतले श्रोताको मन छुने विश्वास गरिएको छ। विशेषगरी मातातीर्थ औंसीको सन्दर्भमा सार्वजनिक गरिएको यो गीतले धेरैलाई आफ्नी आमाको सम्झनामा भावुक बनाउने अपेक्षा गरिएको छ।

 

गीतको रेकर्डिङ तरंग स्टुडियोमा गरिएको हो। स्टुडियो पक्षबाट पनि गीतलाई उत्कृष्ट बनाउन आवश्यक प्रविधि र वातावरण प्रदान गरिएको बताइएको छ। संगीत संयोजन र ध्वनि गुणस्तरमा गरिएको मेहनतले गीतलाई अझ सशक्त बनाएको कलाकारको भनाइ छ । यसअघि उनले “गैराबारी फलेको आलु” र “घर त मेरो पाल्पाको दिग” जस्ता गीतहरू सार्वजनिक गरिसकेका छन्, जसले श्रोतामाझ राम्रो चर्चा कमाएका थिए। ती गीतहरूबाट प्राप्त मायाले नै उनलाई थप सिर्जनामा ऊर्जा दिएको कलाकार बताउँछन्। त्यसैले नयाँ गीत “आमा हो” लाई पनि अघिल्ला सिर्जनाहरूझैँ माया र साथ मिल्नेमा उनी आशावादी छन्।

 

सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका राजन थापा क्षेत्रीले आफ्ना गीतमार्फत समाजका विविध पक्षहरूलाई प्रस्तुत गर्दै आएका छन्। यसपटक भने उनले आमाको महत्व र ममताको गहिराइलाई संगीतमार्फत उजागर गर्ने प्रयास गरेका छन्। नेपाली समाजमा आमाको स्थान अत्यन्तै उच्च रहेको सन्दर्भमा यस्तो गीतले सांस्कृतिक तथा भावनात्मक महत्वसमेत बोकेको देखिन्छ । “आमा हो” केवल एउटा गीत मात्र नभई आमाप्रतिको सम्मान र प्रेम व्यक्त गर्ने माध्यमका रूपमा प्रस्तुत भएको छ । मातातीर्थ औंसी जस्तो विशेष अवसरमा सार्वजनिक गरिएको यस गीतले सबै वर्गका श्रोतालाई समेट्ने र आमाको माया सम्झाउने विश्वास गरिएको छ । 

Comments