पाल्पामा पनि गाईजात्रा मनाइयो

पाल्पा —नेवारी परम्परा अनुसार जनैपुणिर्माको भोलिपल्ट निकालीने गाइजात्रा पर्व पाल्पाको तानसेनमा पनि मनाइएको छ । पाल्पाको तानसेन भाषा कला संस्कृति साहित्य र सम्पदाले भरिपूर्ण शहर हो । श्रीनगरको काखमा अवस्थित तानसेन शहरमा जनै पूर्णिमाको दिनदेखि दश दिन सम्म जात्रा शुरु हुन्छ । जनै पूर्णिमाको दिन दिउँसो चुइँकी निकालिन्छ। झ्यासी न्यासी झ्याई बाजा बजाउँदै, थोत्रो मादल ठटाउँदै, बोराको कपडा लगाई च्यातिएको छाता ओढ्दै, खाली लट्टाइले हावामा चङ्गा उडाउँदै, खेलौनाको बच्चा नचाउँदै, खाली ऐना देखाउदै, विचित्र भेषभूषा लगाएका मानिसहरूले बजारको चोक चोकमा गई हौस्य व्यङ्ग्य पाराले यमराजको संदेश भनेर चुईंकी सुनाउँछन् । चुइँकीको अर्थ समाचार संप्रेषण गर्नु हो। यही दिन साँझ राती मृतकको सम्झनामा सम्बन्धित घर परिवारबाट कुनै सदस्य विरुपको भई थोत्रो टीन लतारेर बजार परिक्रमा गर्दछन् । चुइँकीको दिन गरिने क्रियाकलाप तानसेनको आफ्नै मौलिक साँस्कृतिक चलन हो ।

 

राजा प्रताप मल्लले काठमाडौंमा गाईजात्रा मनाउने चलन चलाएका थिए भने पाल्पामा काठमाडौंबाट आएका   नेवार समुदायले तानसेनमा गाईजात्रा मनाउने चलन चलाएका हुन । गाईजात्राको दिन विशेष गरी महिला मृतकको सम्झना काम्ले गाईका साथै जोगी, वासा, देवी देवताको स्वरुप बनाएर बजार घुमाइन्छ । निर्गुण भजन गाईन्छ। दरवारमा पुऱ्याइन्छ । दरवारमा पुऱ्याइनुको मतलव यसदिन यमराज दरवारमा बसेका हुन्छन् रे यसो गरिदा मृतकहरू सजिलै स्वर्ग जान्छन् भन्ने विश्वास छ ।

 

तानसेन, बराङ्गदी, बन्दीपोखरा, काजीपौवा, भुसालडाडा रिब्दीकाेट गाउँपालिका वडा न ४ काे हटिया लगाएतका स्थानबाट काम्लोको गाई बनाएर रमाईलो गर्दै जात्रा निकालिएको छ । तानसेनमा नेवारी समुदायले वासा, रामायण र निर्गुण गाउँदै नगरपरिक्रमा गरेका छन् । नेवारी परम्परा अनुसार एक वर्ष भित्र मृत्यू भएका परिवारबाट गाइजात्रा निकालिने गरिन्छ । तानसेनमा काठमाण्डौ उपत्यकापछि सबै भन्दा बढी जात्रा मनाइन्छ । तानसेनमा गाइजात्राबाट सुरु भएर कृष्ण नवमीको दिन भगवती जात्रा निकालेपछि मात्र समापन हुन्छ ।

 

तानसेनका स्थानीय अशाेक महर्जनले तानसेनमा जात्रा क्रमश हराउदै जान लागेकोमा चिन्ता व्यक्त गरे । विगतकाे समयमा तानसेनमा जात्रा शुरू भएपछि ग्रामीण भेगबाट मानिसहरू जात्राकाे अवलोकन गर्न आउनेकाे भिडभाड हुने गर्दथाे तर अहिले धेरै कमी आएकाे  बताए । 

 

रिब्दीकाेट गाउँपालिका वडा न ४ का स्थानीय तुल बहादुर अधिकारीले स्थानीय कला,सस्कृति तथा जात्राहरूकाे पुस्ता हस्तान्तरणमा जाेड दिनुपर्ने बताए । पछिल्लो समयमा युवा शक्तिहरू वैदेशिक राेजगारीमा पलायन हुदाँ विगतका समयमा जस्तो राैनकता कमि अएकाे  बताए । अब नयाँ पुस्ताहरूलाई कला सस्कृति,रितिरिवाज हस्तान्तरण गर्न आवश्यक छ । अधिकारीले बताए । हाम्रो सस्कृति भनेकै सम्पत्ति हाे,हाम्रो पहिचान हाे । संस्कार र सस्कृतिकाे संरक्षण एवम पुस्ता हस्तान्तरणमा जाेड दिनुपर्ने उनले बताए ।

Comments