नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. ३ को ३३औं क्षेत्रीय बैठक पाल्पामा सम्पन्न

पाल्पा — नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. ३ को ३३औं क्षेत्रीय बैठक ऐतिहासिक तथा पर्यटकीय जिल्ला पाल्पामा सम्पन्न भएको छ । घुम्ती बैठकका रूपमा पाल्पामा आयोजित उक्त कार्यक्रमले संगठनभित्रको छलफल, अनुभव साटासाट तथा आगामी योजनाका सन्दर्भमा विशेष योगदान पुर्‍याएको बताइएको छ । 

 

कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा सहभागी श्रेष्ठले नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. ३ ले बैठक आयोजना गर्न पाल्पा रोज्नु आन्तरिक पर्यटन प्रवर्द्धनको दृष्टिकोणले स्वागतयोग्य कदम भएको बताउनुभयो। `यस्ता कार्यक्रमले पाल्पाको पर्यटन, संस्कृति र पहिचानको प्रवर्द्धनमा टेवा पुग्छ,´उहाँले भन्नुभयो, यसले क्षेत्रीय तहमा एकता र सहकार्यको सन्देश पनि प्रवाह गर्ने बताउनुभयो। 

 

सभापति श्रेष्ठले कांग्रेस पार्टी बलियो हुनका लागि अब विचारमूलक बहस अधिवेशनसम्म सीमित नराखी संगठनमुखी दृष्टिकोण आवश्यक भएको धारणा राख्नुभयो । उहाँले पार्टीको टिकट वितरण व्यक्तिगत समूह र गुटको आधारमा नभई योगदान, निष्ठा र लोकप्रियताको आधारमा हुनुपर्नेमा जोड दिनुभयो । साथै, पार्टीका पदाधिकारी तथा जनप्रतिनिधिहरूप्रति सम्मानजनक व्यवहार र सहयोगी संस्कार विकास भए मात्र नेपाली कांग्रेस आगामी निर्वाचनमा पनि प्रमुख शक्ति बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

 

रूपन्देही क्षेत्र नं. ३ का क्षेत्रीय सभापति सुशील गुरुङले गत वर्ष स्याङ्जाको सिरुवारीमा क्षेत्रीय बैठक सम्पन्न भएको जानकारी दिँदै यस वर्ष पाल्पाको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि घुम्ती बैठकको स्वरूपमा पाल्पा रोजिएको बताउनुभयो ।  बैठकमार्फत  केवल सांगठनिक समीक्षा मात्र होइन, एकअर्काबीचको अनुभव, दृष्टिकोण र योजनाहरू पनि साझा गरिरहेका छौं,” उहाँले भन्नुभयो  । 

 

कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष कृष्ण प्रसाद खनालले क्षेत्रकाे  आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो। उहाँले पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई संस्थागत गर्न आर्थिक पक्षको नियमित लेखाजोखा जरुरी रहेको धारणा राख्नुभयो । बैठकमा उपसभापति सुरेन्द्रजंग थापा, धनश्याम चालिसे, सचिव भवानीप्रसाद शर्मा, सहसचिव चिरञ्जीवी ढकाल, सदस्यहरू रमेश मल्ल, रामप्रसाद पौडेल, इन्दिरा केसी, पुनम सुनार, केशवप्रसाद अधिकारी, राधिका घर्ति मगर, रूपमाया पुन, शोभा आचार्य, यमबहादुर बुढा, रामवृक्ष अहिर, सजिव दमाई, घनश्याम यादव, पल्टन थारू, सरस्वती श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

 

कार्यक्रम सचिव लेखनाथ भट्टराईको सञ्चानमा सम्पन्न भएको बैठकले आगामी रणनीति, संगठन विस्तार, युवा तथा महिला सहभागिता अभिवृद्धि लगायतका विविध पक्षमा केन्द्रित छलफल गरेको थियो । सहभागीहरूले यस प्रकारका बैठकले पार्टीको आधारभूत संरचनामा सशक्तीकरण ल्याउने मात्र नभई स्थानीय तहमा जनसम्पर्क विस्तारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएकाे छ । यस बैठकले नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. ३ भित्रको सांगठनिक संरचनालाई अझ सुदृढ पार्ने र आगामी दिनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको जनाइएको छ । 

Comments