यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारका विषयमा रामपुरमा सरोकारवालासंग अन्तरक्रिया
पाल्पा ,यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारका विषयमा रामपुरमा सरोकारवाला संग अन्तरक्रिया भएको छ । साहसी कदम नेपालको आयोजना, रामपुर नगरपालिका र टेवा नेपालको आर्थिक सहयोगमा शुक्रबार कार्यक्रम भएको हो । यौनिक तथा अल्पसंख्यक समुदायमा काम गर्ने अभियान्ता, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीविच अन्तक्रिया भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले यौनिक तथा अल्पसंख्यक समुदायको लागि राज्यले नीतिगत व्यवस्था गरे पनि कार्यान्वयनको पाटो फितलो रहेको बताएका छन् । कार्यान्वयन पक्ष कमजोर हुँदा समाजमा खुलेर हिड्न चुनौति रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले स्थानीय तहको सिमित स्रोत र साधनका विच पनि यौनिक तथा अल्पसंख्यक समुदायको हितका लागि नीतिगत व्यवस्था सहित कार्यान्वयनका लागि बजेट र कार्यक्रमको व्यवस्था गरेको बताउनुभयो । नगर भित्र रहेका यौनिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चतताका लागि नगर सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नगरपालिका भित्र पनि यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरु रहे पनि खुल्न नचाहेको उल्लेख गर्नुभयो । उपप्रमुख थापाले समाजको डरले गर्दा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति खुल्न नचाहेको बताउँदै यस समुदायको उत्थान र सहज रुपमा खुलेर जिउने वातावरण बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा सहासी कदम नेपालका केन्द्रिय सदस्य इन्द्रा देवि सारुले तीनै तहका सरकारले यौनिक अल्पसंख्यक समुदायका लागि उचित व्यवस्था र अधिकार दिन नसकेको गुनासो गर्नुभयो ।
परिवारबाट पनि अपहेलित भएर टाढिनु पर्ने बाध्यता रहेको भन्दै यौनिक अल्पसंख्यकका लागि सरकारले फरक नीतिगत व्यवस्था सहित कार्यान्वयनको पक्ष बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियन्ता भूमिका श्रेष्ठले यौनिक अल्पसंख्यक समुदायका मानिस अन्य भन्दा फरक नभई पृथक भएको बताउनुभयो । उहाँले समाजको फरक दृष्टिकोण र गलत बुझाइका कारण अपहेलनाको सिकार बन्नु परेको बताउनुभएको थियो । यस्तै सहासी कदम नेपालका प्रबन्ध निर्देशक रेश्मा न्यौपानेले पृथक स्वभाव र शारीरिक बनावटका कारण परिवारबाट अलग भएर बस्नु पर्ने बाध्यता रहेको र जुनसुकै स्थानमा स्विकार नगर्नु आफुहरुको लागि विडम्बना भएको बताउनुभयो । उहाँले महिला पुरुष जस्तै यौनिक तथा अल्पसंख्यक पनि सन्तान सरह नै मान्नु पर्ने बताउँदै हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रम संयोजक सुरज थापाले रामपुर नगर भित्र पनि यौनिक तथा अल्पसंख्यक समुदाय भन्न नसक्ने र खुल्न नचाहने धेरै रहेको जानकारी दिनुभयो । सहासी कदम नेपालका केन्द्रिय सदस्य इन्द्रा देवि सारुको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन सहासी दम नेपालका केन्द्रिय सदस्य रेश्मा न्यौपानेले गर्नु भएको थियो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।








































Comments