ट्राफिक सेवामा समर्पित टोप बहादुर श्रेष्ठ र श्रमिक आन्दोलनका अगुवा गंगाराम भट्टराईलाई सम्मान

पाल्पा — ४४औँ बिपी स्मृति दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी) जिल्ला कार्यसमिति, पाल्पाले समाज र श्रमिक आन्दोलनमा अतुलनीय योगदान पुर्‍याएका दुई अग्रज व्यक्तित्वलाई सम्मान गरेको छ। तानसेन–३ निवासी नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाका संस्थापक सभापति गंगाराम भट्टराई तथा विगत ५२ वर्षदेखि कुनै पारिश्रमिकको अपेक्षा नगरी तानसेन बजार क्षेत्रमा नागरिक ट्राफिक व्यवस्थापनमा निरन्तर सेवा गर्दै आउनुभएका टोप बहादुर श्रेष्ठ (कलकत्ते) लाई सम्मान गरिएको हो । 

 

नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ,नेपाली कांग्रेस पाल्पाका निवर्तमान पाटी सभापति बिर बहादुर राना,नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण रायमाझीले दुवै व्यक्तित्वलाई नगद, सम्मानपत्र तथा कपडा प्रदान गर्दै सम्मान गर्नुभएको थियोल। कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले श्रमको सम्मान, सामाजिक उत्तरदायित्व र सेवाभावको संस्कृतिलाई स्थापित गर्न यस्ता व्यक्तित्वहरूले पुर्‍याएको योगदान अनुकरणीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “श्रमसँग जोडिएर समाज परिवर्तन गर्ने बिपी कोइरालाको विचारलाई नेपाल ट्रेड युनियन कांग्रेसले व्यवहारमा उतार्दै आएको छ। बिपीका नीति र सिद्धान्तमा विचलन आएको अनुभूति भइरहेको यस समयमा ट्रेड युनियनले सामाजिक उत्तरदायित्वलाई अगाडि बढाउँदै समाजलाई सकारात्मक सन्देश दिएको छ। यस्ता व्यक्तित्वको सम्मानले नयाँ पुस्तालाई सेवाभाव र समर्पणको प्रेरणा दिन्छ,उहाले बताउनुभयो । 

 

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका निवर्तमान पार्टी सभापति वीरबहादुर रानाले लोकतन्त्र र नेपाली कांग्रेस एकअर्काका परिपूरक भएको उल्लेख गर्दै बिपी कोइरालाले स्थापित गर्नुभएको लोकतान्त्रिक मूल्य र श्रमिक अधिकारको आन्दोलनलाई अझ सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ नेपाली कांग्रेस हुन्छ। बिपीले स्थापित गर्नुभएको सिद्धान्तलाई अङ्गीकार गरेर ट्रेड युनियन कांग्रेस अघि बढेको हो। पछिल्लो समय नेपाली कांग्रेस वैचारिक रूपमा केही कमजोर देखिएको अवस्थामा बिपीका आदर्शलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो । 

 

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण रायमाझीले संस्थापक तथा अग्रजहरूले निर्माण गरेको संगठनलाई थप सुदृढ बनाउँदै श्रमिकको हकहित र सामाजिक सेवाको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अग्रजहरूले देखाएको बाटोलाई अवलम्बन गर्दै संगठनलाई अझ बलियो बनाउनु आजको आवश्यकता हो। श्रमिकको अधिकारसँगै समाजप्रतिको उत्तरदायित्वलाई पनि सँगै लैजानुपर्ने बताउनुभयो । 

 

सम्मानित व्यक्तित्व टोप बहादुर श्रेष्ठ (कलकत्ते)ले आफूले कुनै पुरस्कार वा सम्मानको अपेक्षा नगरी नागरिक सेवाको भावनाले ट्राफिक व्यवस्थापन गर्दै आएको बताउनुभयो। उहाँले मानिसको सुरक्षित आवतजावत होस् भन्ने उद्देश्यले ५२ वर्षदेखि आफ्नो ठाउँबाट सेवा गरिरहेको छु। आज प्राप्त भएको सम्मानले अझ जिम्मेवार भएर समाजको सेवा गर्ने ऊर्जा मिलेको छ। यो सम्मान मेरो मात्र नभई समाजसेवामा समर्पित सबै व्यक्तिहरूको सम्मान रहेको बताउनुभयो ।  त्यसैगरी सम्मानित गंगाराम भट्टराईले नेपाल ट्रेड युनियन कांग्रेसको स्थापना र श्रमिक आन्दोलनमा आफूले गरेको योगदानको कदर भएकोमा खुसी व्यक्त गर्दै संगठनलाई थप मजबुत बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले श्रमिकको हक, अधिकार र सम्मानका लागि सुरु गरिएको अभियानलाई नयाँ पुस्ताले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

 

नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष नीलकण्ठ देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लोकनाथ अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्ता, ट्रेड युनियनका पदाधिकारी, श्रमिक, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बिपी कोइरालाको विचार, श्रमिक आन्दोलनको योगदान र समाजप्रति समर्पित सेवाभावलाई स्मरण गर्दै सम्पन्न भएको सम्मान कार्यक्रमले श्रम, सेवा र सामाजिक उत्तरदायित्वप्रति सम्मान व्यक्त गर्ने सन्देश दिएको सहभागीहरूले बताउनुभएको थियो । 

Comments