नेपाल महिला संघ पाल्पा जिल्ला कार्यसमितिको बैठक सम्पन्न, संगठन सुदृढीकरणसहित तीन महत्वपूर्ण निर्णय
पाल्पा — नेपाल महिला संघ पाल्पा जिल्ला कार्यसमितिको बैठक कार्यवाहक सभापति मिना पन्थीको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा माया नेपालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पार्वती शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ तथा नेपाल महिला संघका केन्द्रीय प्रतिनिधि सरस्वती तिमिल्सिनाको विशेष उपस्थिति रहेको थियो। साथै नेपाल महिला संघका केन्द्रीय सदस्य गिरिजा गैरे, नेपाली कांग्रेसका पाल्पा पार्टी सचिव सुनिता अधिकारी, महाधिवेशन प्रतिनिधि शान्ति झेडी, नेपाल महिला संघ गण्डकी प्रदेश सदस्य दुर्गा घिमिरे, पूर्व जिल्ला सदस्य सीता ज्ञवाली, क्षेत्रीय सदस्य देवी खनाल, तानसेन नगरपालिकाकी कार्यपालिका सदस्य गीता भट्टराई, अनु रामधान, कोपिला कार्की, स्वस्तिका श्रेष्ठ, कमला बास्तोला, सीता बस्नेत, पुष्पा पाण्डेय लगायत महिला नेतृ तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथिहरूले नेपाल महिला संघ लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै संगठनलाई समयानुकूल थप सशक्त, प्रभावकारी र जनउत्तरदायी बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँहरूले महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक सशक्तीकरणका लागि संगठनले गाउँदेखि जिल्ला तहसम्म प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। महिला नेतृत्व विकास, संगठन विस्तार, नयाँ पुस्तालाई संगठनसँग जोड्ने अभियान तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको उहाँहरूको भनाइ थियो। साथै विपद्का समयमा जनचेतना अभिवृद्धि, वातावरण संरक्षण तथा समाजसेवामूलक गतिविधिमा महिला संघ अग्रसर हुनुपर्ने बताउँदै संगठनभित्र एकता, अनुशासन र सक्रियतालाई अझ सुदृढ बनाउन सबै सदस्यहरूको समान भूमिका रहने विश्वास व्यक्त गर्नुभयो।
बैठकले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै तीन वटा महत्वपूर्ण निर्णय गरेको छ। पहिलो निर्णयअनुसार अविरल वर्षाका कारण हुन सक्ने प्राकृतिक विपद् तथा सम्भावित जोखिम न्यूनीकरणका लागि सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सूचना, सन्देश तथा सचेतनामूलक सामग्री व्यापक रूपमा प्रवाह गर्ने निर्णय गरिएको छ। दोस्रो निर्णयअनुसार नेपाल महिला संघका सम्पूर्ण सदस्य तथा साथीहरूको क्रियाशील सदस्यता अद्यावधिक गर्ने जिम्मेवारी सम्बन्धित तहका पदाधिकारीलाई प्रदान गरिएको छ। यस अभियानमार्फत संगठनलाई थप व्यवस्थित, सुदृढ र चलायमान बनाउने लक्ष्य लिइएको बैठकले जनाएको छ। सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै संगठनलाई वडा, पालिका र जिल्ला तहसम्म थप प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो।
त्यसैगरी बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमिति तथा सम्बन्धित समितिको आयोजनामा श्रावण ६ गते मनाइने विपी स्मृति दिवसका अवसरमा तानसेन नगरपालिका–८ स्थित कोकल मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रममा नेपाल महिला संघका सबै पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रहने जनाइएको छ। बैठकमा भएका निर्णयहरू समयमै कार्यान्वयन गर्दै महिला संघलाई अझ सक्रिय, अनुशासित, जनमुखी र समाजप्रति उत्तरदायी संगठनका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। सहभागीहरूले संगठनात्मक एकता, महिला अधिकारको संरक्षण, वातावरण संरक्षण, सामाजिक जागरण तथा लोकतान्त्रिक मूल्य र मान्यताको प्रवर्द्धनमा नेपाल महिला संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै बैठक सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्।









































Comments