व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर

पाल्पाको तानसेन—७, प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पताल लिमिटेड (एलएमसी)को बहुमत सेयर किनबेच भएको छ । १३५ जना सेयर होल्डर रहेको लुम्बिनी मेडिकल कलेजका प्रमुख संस्थापक गोपाल पोखरेलसहितको समूहको स्वामित्वमा रहेको ६७ प्रतिशत सेयर किनेर व्यवसायी दिनेश सिलवालले कलेजको बहुमत स्वामित्व लिएका हुन् । 

 

लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर किनेका सिलवाल नेपालको प्रतिष्ठित आईटी कम्पनी ‘कोडावतार’का अध्यक्ष हुन् । सेयर किनेसँगै उनले कलेजको व्यवस्थापकीय नेतृत्वसमेत लिएका छन् । ‘हामीले लुम्बिनी मेडिकल कलेजको ६७ प्रतिशत सेयर किनेका छौं,’ गत शनिबार लुम्बिनी मेडिकल कलेजको सेयर खरिद बिक्री सकिएपछि सञ्चालक समिति अध्यक्ष चयन भएका उनले भने, ‘अस्ति शनिबार सम्पन्न साधारणसभाले सेयर किनबेचको सबै प्रक्रिया अनुमोदन गरेको छ ।’ उनले आफ्नो कम्पनी मायाहोल्ड प्राइभेट लिमिटेडमार्फत लुम्बिनीको सेयर खरिद गरेका हुन् । मेडिकल कलेजका संस्थापकसमेत रहेका निवर्तमान अध्यक्ष गोपाल पोखरेलले आफूहरुले बहुमत सेयर बेचेर मेडिकल कलेजबाट बाहिरिएको जानकारी दिए । ‘हामीहरुले लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर बेच्यौं,’ उनले भने, ‘कागजपत्रका कामहरु समेत सकिए, मैले २० वर्षपछि मेडिकल कलेजको नेतृत्व समेत छाडे ।’ वि.सं. ०७७ सालमा पोखरेलको समूहले देवदह मेडिकल कलेजको बहुमत सेयर किनेको थियो । 

 

देवदहको सेयर किनेसँगै पोखरेल लुम्बिनी मेडिकल कलेजबाट बाहिरिन चाहेका थिए । झण्डै २० वर्ष लामो चिकित्सा शिक्षाको विरासत बोकेको लुम्बिनी मेडिकल कलेज ३११ रोपनीमा क्षेत्रफलमा फैलिएको छ । २० वटा भवन पूर्ण रुपमा सञ्चालनमा रहेको कलेजले चिकित्सा शिक्षाका तीन कार्यक्रम अध्यापन गराउनुका साथै विशेषज्ञ उपचार सेवा प्रवाह गर्दै आएको छ । लुम्बिनी मेडिकल कलेजको ४०० शय्या शिक्षण अस्पताल स्वीकृत भएपनि ६०० शय्याको शिक्षण अस्पताल सञ्चालनमा छ । शिक्षण अस्पतालले दैनिक ५०० जनालाई ओपीडी सेवा दिने गरेको छ भने ३०० शय्या अकुपेन्सी छ । एक हजार बढी विद्यार्थीलाई ग्राजुयट गरिसकेको लुम्बिनी मेडिकल कलेज वि.सं. २०६२ सालमा स्थापना भएको थियो । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा अहिले पोष्ट ग्राजुयसन, एमबीबीएस, र बीएस्सी नर्सिङ शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । कलेजले स्वदेशी तथा विदेशीहरुलाई उच्च गुणस्तरको चिकित्सा शिक्षा प्रदान गर्दै आएको छ । अहिले लुम्बिनी मेडिकल कलेजमा झण्डै आठ सय जना कर्मचारीले काम गर्छन् । लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर किनेका युवा व्यवसायी सिलवाल काठमाडौं निवासी हुन् । बेलायतबाट सूचना प्रविधी विज्ञानमा स्नातकोत्तर गरेका सिलवालले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रीकल इन्जिनियरिङमा स्नातक गरेका छन् । उनी संस्थापक तथा अध्यक्ष रहेको ‘कोडावतार’ अमेरिका, क्यानडामा सफ्टवेयरहरुको आउटसोर्सिङ गर्दै आएको छ । कालोपुलमा मुख्य कार्यलय रहेको कम्पनीको बैंगलुरु र फिलिपिन्समा पनि कार्यलय छन् । वि.सं. २०७९/८० मा नेपालबाट प्रविधिको आउटसोर्सिङतर्फ सबैभन्दा बढी आयकर तिरेवापत कर दिवसमा करदाता कार्यलयले उनको कम्पनीलाई सम्मान समेत गरेको थियो । 

 

सिलवालका आईटी कम्पनीमा झण्डै १२ सय जनाले रोजगारी पाएका छन् । १२०० जनालाई रोजगारी दिने दिनेशको आईटी कम्पनी सम्भवतः नेपालकै सबैभन्दा ठूलो कम्पनी हो । त्यसबाहेक दिनेशको लगानी बैकिङ क्षेत्रमा समेत छ । कम शुल्कमा कसरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा आफ्नो गहिरो रुचि भएकाले आफूले चिकित्सा शिक्षाको क्षेत्रमा लगानी गरेको सिलवालले बताए । ‘मलाई पहिलेदेखि नै कम शुल्कमा कसरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सकिन्छ भन्नेमा रुचि थियो,’ उनले हेल्थआवाजसँग भने, ‘त्यही कारण आईटीभन्दा पर चिकित्सा शिक्षाको क्षेत्रमा लगानी गरेको हौं ।’ इन्ट्री प्वाइन्ट नै मेडिकल कलेज भएकाले संस्थागत इफिसेन्सीमा आफ्नो जोड रहने उनले बताए ।

Comments