विविध कार्यक्रमसहित पाल्पामा १७औं गणतन्त्र दिवस भव्य रूपमा मनाइयो
पाल्पा, जेठ १५ । देशभर १७ औं गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइँदै गर्दा पाल्पामा पनि आज भव्य समारोहका साथ राष्ट्रिय पर्वको रूपमा गणतन्त्र दिवस मनाइएको छ । जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा र तानसेन नगरपालिकाकाे समन्वयमा भएको औपचारिक समारोहमा सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, शिक्षक-शिक्षिका, विद्यार्थी, सुरक्षा निकाय, सञ्चारकर्मी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रारम्भमा सहभागीहरूले राष्ट्रगान गाएर शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ताेय नारायण सुवेदीले गणतन्त्र नेपाल जनताको बलिदान, संघर्ष र सपनाबाट स्थापित भएको स्मरण गराउँदै यसलाई संस्थागत गर्न सबै नागरिकले आ–आफ्नो तहबाट योगदान दिनुपर्ने बताए । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले गणतन्त्रले ल्याएको राजनीतिक अधिकारलाई अब सामाजिक र आर्थिक न्यायमार्फत सबल बनाउनुपर्ने बताए । उनले जनताका अधिकार सुनिश्चित गर्न सबै तहका सरकार र नागरिक समाजको भूमिकामा समन्वय आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आ–आफ्ना पारम्परिक भेषभूषामा सजिएर राष्ट्रिय एकता, सामाजिक सद्भाव र विविधताको सन्देश दिने झाँकी र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम निबन्ध लेखन प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने विद्यालयहरूलाई प्रमुख जिल्ला अधिकारी र समन्वय प्रमुखद्वारा सम्मानपत्र प्रदान गरिएको थियो । गणतन्त्र दिवसको अवसरमा पाल्पा जिल्लाका अन्य स्थानीय तहहरू—जस्तै रिब्दिकोट, माथागढी, तिनाउ, रामपुर र रैनादेवी छहरा गाउँपालिकामा पनि विविध कार्यक्रमहरू सम्पन्न भएका छन् । स्थानीय विद्यालय, महिला समूह, युवा क्लब तथा सामाजिक संस्थाहरूको सहकार्यमा प्रभातफेरी, वृक्षरोपण, सरसफाइ अभियान, नारा लेखन, वक्तृत्वकला तथा चित्रकला प्रतियोगिताजस्ता गतिविधिहरू आयोजना गरिएको थियो । सहभागी वक्ताहरूले गणतन्त्र स्थापनाका लागि बलिदान दिने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै, गणतान्त्रिक शासन प्रणालीलाई अझ मजबुत बनाउन सबै नागरिक सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।








































Comments