विद्यालयस्तरको क्रिकेट च्याम्पियनसिप पाल्पामा भोलिबाट सुरु हुँदै !
पाल्पामा विद्यालयस्तरको क्रिकेट विकासलाई टेवा पुर्याउने उद्देश्यले नेपाल क्रिकेट संघको वार्षिक कार्यक्रम अन्तर्गत “राष्ट्रिय विद्यालय च्याम्पियनसिप” क्रिकेट प्रतियोगिता यही जेठ ६ गतेदेखि सुरु हुने भएको छ। पाल्पा जिल्लामा आयोजना हुने उक्त प्रतियोगिता जिल्ला क्रिकेट संघ पाल्पाको आयोजनामा, एसजी स्पोर्ट्सको प्रायोजन तथा क्रिकमाण्डुको सह–प्रायोजनमा सञ्चालन गरिने जनाइएको छ। प्रतियोगितामार्फत जिल्लाका विभिन्न विद्यालयहरूलाई एउटै मञ्चमा ल्याउँदै युवा प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुनका लागि विद्यालयहरूले आफ्नै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई मात्र समावेश गर्नुपर्नेछ। साथै, विद्यालयको दर्ता प्रमाणपत्र र विद्यार्थीहरूको जन्मदर्ता अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। कक्षा १० सम्म अध्ययनरत तथा २०८२ सालमा SEE दिएका विद्यार्थीहरू समेत प्रतियोगितामा सहभागी हुन पाउनेछन्। प्रतियोगिता टी–२० ढाँचामा सञ्चालन गरिनेछ।
जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले प्रादेशिक चरणमा स्थान सुरक्षित गर्नेछ। प्रादेशिक चरणमा पुगेपछि सम्बन्धित टोलीहरूले आफ्नो जिल्लाबाट अधिकतम ४ जना उत्कृष्ट खेलाडी थप्न पाउने व्यवस्था गरिएको छ। यस चरणमा कम्तीमा ३ वा सोभन्दा बढी टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ र प्रतियोगिता टी–२० राउण्ड फर्म्याटमा सञ्चालन गरिनेछ। प्रादेशिक चरणमा विजयी हुने टोलीले राष्ट्रिय स्तरको “राष्ट्रिय विद्यालय च्याम्पियनसिप” मा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछ, जसले खेलाडीहरूलाई थप ठूलो मञ्चमा पुर्याउनेछ।
जिल्ला क्रिकेट संघ पाल्पाका कार्यवाहक अध्यक्ष शैलेन्द भट्टराईले यस प्रतियोगिताले विद्यालयस्तरमा क्रिकेटको विकासमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यस्तो प्रतियोगिताले ग्रामीण तथा शहरी क्षेत्रका प्रतिभाशाली विद्यार्थी खेलाडीहरूलाई एउटै मञ्चमा ल्याउने मात्र होइन, उनीहरूको क्षमता पहिचान गरी राष्ट्रिय स्तरसम्म पुर्याउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ। उहाँले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र टीमवर्क जस्ता गुणहरूको विकास गर्ने भएकाले यस प्रकारका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन हुन आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी खेल संयोजक तथा सदस्य पुर्न राज शाक्यले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभएको छ। उहाँले प्रतियोगिता निष्पक्ष, व्यवस्थित र प्रतिस्पर्धात्मक वातावरणमा सञ्चालन गरिने उल्लेख गर्दै सहभागी सबै विद्यालयका खेलाडीहरूलाई समान अवसर प्रदान गरिने बताउनुभयो। उहाँका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मात्र होइन, सम्भावनायुक्त खेलाडीहरूलाई समेत पहिचान गरी अगाडि बढाउने लक्ष्य राखिएको छ, जसले नेपाली क्रिकेटको भविष्यलाई अझ बलियो बनाउन मद्दत गर्नेछ। उहाँहरूले विद्यालयस्तरमै खेलकुदको संस्कृति विकास गर्नु आजको आवश्यकता भएको बताउँदै स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन गर्ने दीर्घकालीन उद्देश्यसहित कार्यक्रम अघि बढाइएको स्पष्ट पार्नुभएको छ।









































Comments