विद्यालयमा विपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र सञ्चालन गरिने

पाल्पा, तानसेन नगरपालिका-३ स्थित पद्य पब्लिक माध्यमिक विद्यालयमा आधारित बिपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि तानसेन नगरपालिका, डिजास्टर एजुकेसन प्रोमोसन अफिस र सिटिनेट प्लस आर्टस् सेन्टर फर क्रियटिभ पार्टनरसिप्स डिजाइन एन्ड क्रियटिभ सेन्टर कोवे, जापानबिच त्रिपक्षीय सम्झौता भएको हो । 

 

सम्झौतामा नगरपालिकाको तर्फबाट सन्तोषलाल श्रेष्ठ, प्रोमोसन अफिसका तर्फबाट अध्यक्ष दीपक मरहठ्ठा र क्रियटिभ सेन्टरका तर्फबाट कार्यकारी निर्देशक केन्द्र हिराटाले हस्ताक्षर गर्नुभएको छ । स्रोत केन्द्र सञ्चालनका लागि तानसेन नगरपालिकाले विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र सञ्चालन निर्देशिका तयार गरेको छ । स्रोत केन्द्रको लक्ष्य र उद्देश्य प्राप्तिका लागि तीन वटै पक्षले आवश्यकता अनुसार एक आपसमा समन्वय र सहकार्य गर्दै आ–आफ्नो स्थानबाट जिम्मेवारी निर्वाह गर्ने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

 

हस्ताक्षर गरे पस्चात् स्रोत केन्द्र सञ्चालनका लागि तीनै पक्षको प्रतिनिधिहरूको उपस्थितिमा ३० दिन भित्र एउटा कार्य योजना बनाइने छ । कार्ययोजनामा उल्लेखित क्रियाकलापहरू तोकिएको समयावधी भित्र सम्पन्न गरिने उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले सम्झौतामा भएका कुराहरू कार्यान्वयन गर्दै प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजाली, पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डे,वडा अध्यक्षहरू,कार्यपालिका सदस्य, सहकारी शाखा प्रमुख विष्णु पौडेल, शिक्षा शाखा प्रमुख कोपिला न्यौपाने लगाएत पत्रकारहरूकाे उपस्थिति रहेको थियाे ।

Comments