विद्यालयका शिक्षकहरुलाई शैक्षिक सामग्री निर्माण सम्बन्धी सिप प्रदान

पाल्पा, रामपुर नगरपालिका भित्रका आधारभूत तहमा अध्यापनरत शिक्षकहरुलाई शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा नगरभित्रका ६० विद्यालयका प्राथमिक तहमा अध्यापन गराउने शिक्षाकहरुलाई शैक्षिक सामग्री निर्माण सम्बन्धी सिप सिकाईएको हो । कक्षा शिक्षणका क्रममा प्रयोग गरिने विभिन्न शैक्षिक सामग्री निर्माण गर्न प्राथमिक तहका ३० र आधारभूत तह र माध्यमिक तहका ३० जना शिक्षकहरुलाई २/२ दिन गरी ४ दिन सम्म सिप सिकईएको हो ।

 

कार्यशालाको सोमबार एक कार्यक्रमका विच समापन गरिएको छ । ४ दिने कार्यशालाको समापन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरका हरेक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरी शैक्षिक अवस्थाको स्तरोन्नतीका लागि नगर सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो । शैक्षिक सुधार र विकासका लागि बुक फ्रि फ्राईडे लगाएत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै हरेक विद्यालयमा हुने कक्षा शिक्षणलाई प्रभावकारी बनाउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले नगरपालिकाले गरेको लगानी अनुसार कक्षा शिक्षणमा लगानशिलताका साथ अध्यापन गराउन शिक्षकहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका सामाजिका विकास समितका संयोजक सिमादेवि थापाले तालिममा सिकेका सिपलाई कक्षा शिक्षणको क्रममा पूर्ण रुपमा लागु गर्न आग्रह गर्नुभयो ।

 

स्थानीय स्तरमा प्राप्त स्रोत साधनबाट थोरै समय र विना लगानीमा शैक्षिक सामग्री निर्माण गरि राम्रो र रमाईलो वातावरणमा कक्षा शिक्षणका लागि तालिमको आयोजना गरिएको नगर शिक्षा अधिकृत विकल काफ्लेले बताउनुभयो । कार्यक्रममा बोल्दै व्रिटिस काउन्सियलका प्रशिक्षक मेनुका थापाले प्रभावकारी कक्षा शिक्षणमा शैक्षिक सामग्रीको प्रयोग महत्वपूर्ण रहेको भन्दै कार्यशालामा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । यस्तै सहभागिहरुको तर्फबाट मदरसा नुरुल हुदा आधारभूत विद्यालयका शिक्षक नजमुन निसाले शैक्षिक सामग्रीको प्रयोगबाट विद्यार्थीहरुलाई सिकाउन सजिलो हुने भन्दै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ४ दिन सम्म चलेको कार्यशालाको सहजिकरण व्रिटिस काउन्सियलका प्रशिक्षक मेनुका थापा र सुमिना कुवँरले गर्नु भएको थियो ।

 

रामपुर आयुर्वेद अस्पतालको योग हलमा भएको कार्यशालामा कक्षा कोठामा प्रयोग हुने सामग्री बनाउने तरिका,यसको व्यवस्थापन, प्रयोग विधि,स्रोत साधनको संकलन ,शैक्षिक सामग्रीको प्रस्तुतिकरण कसरी गर्ने लगाएतका विषयमा ज्ञान सिप सिकाईएको थियो । रामपुर नगरपालिका सामाजिक विकास समितका संयोजक सिमादेवि थापाको अध्यक्षतामा भएको कार्यशाला समापन कार्यक्रम उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यता र शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरको सञ्चालनमा सम्पन्न भएको हो ।

Comments