विशेष महाधिवेशनको पक्षमा उभियो पाल्पा कांग्रेस, सहभागी हुन आह्वान
नेपाली कांग्रेस पाल्पा पनि विशेष महाधिवेशनको पक्षमा उभिएको छ। जिल्ला सभापति हिमालदत्त श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् । जिल्ला सभापति हिमालदत्त फेसबुकमा लेख्छन्, पार्टीको नीतिगत दिशा, संगठनात्मक संरचना र भावी नेतृत्व निर्माण गर्ने यो ऐतिहासिक विशेष महाधिवेशनमा पाल्पा जिल्लाबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूको सक्रिय, जिम्मेवार र नेतृत्वदायी सहभागिता अत्यन्त आवश्यक रहेको छ । यद्यपि पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको “ऐतिहासिक दोस्रो विशेष महाधिवेशन”मा पाल्पाको गरिमामय उपस्थितिले यस महाधिवेशनलाई अझ अर्थपूर्ण, सशक्त र ऐतिहासिक बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त रहँदै सक्रिय सहभागीताको लागि हार्दिक अपिल गर्दछौं ।“नितिगत स्पष्टता, युवा सहभागिता र सांगठनिक सुदृढीकरण — हाम्रो संकल्प”
विज्ञप्तिमा भनिएको छ, आदरणीय पाल्पाली कांग्रेसका निष्ठावान् अग्रज तथा महाधिवेशन प्रतिनिधि साथीहरू, जय नेपाल !
विषयः ऐतिहासिक विशेष महाधिवेशनमा नीतिगत निर्णय र संकल्प प्रस्ताव सम्बन्धी विशेष अपिल ।
नेपाली कांग्रेसको विधान २०७८, नेपालको संविधान २०७२ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को लोकतान्त्रिक मर्म बमोजिम ५४.५८% महाधिवेशन प्रतिनिधिहरूको विधिवत मागलाई सम्बोधन गर्दै २०८२ पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको “ऐतिहासिक दोस्रो विशेष महाधिवेशन” नेपाली कांग्रेसको भविष्य निर्धारण गर्ने निर्णायक मोड हो । विधि, पद्धति र आन्तरिक लोकतन्त्रलाई पुनर्जीवित गर्न पहल गर्ने श्रद्धेय महामन्त्रीद्वय सहित सम्बन्धित केन्द्रीय नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
यो विशेष महाधिवेशन केवल औपचारिक जमघट नभई पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक सुदृढता र जनविश्वासको पुनःस्थापनातर्फ अघि बढाउने ऐतिहासिक अवसर हो । जनतामा बढ्दो राजनीतिक नैराश्यतालाई आशा र विश्वासमा रूपान्तरण गर्दै नेपाली कांग्रेसलाई समयसापेक्ष, युवा-मैत्री र जनमुखी बनाउने संकल्प यस महाधिवेशनको मूल उद्देश्य हो भन्ने हाम्रो बुझाइ छ । सर्वप्रथम गौरवशाली नेपाली कांग्रेस पार्टी भएकाले मात्र पार्टीको विधान बमोजिम पार्टी भित्र विशेष महाधिवेशनको अपिल गर्ने अवसर प्राप्त भएकाले पार्टी फुटाल्ने र फुट्ने जोखिम बाट हामी सचेत छौँ, हुनुपर्छ ।
यसै सन्दर्भमा, विशेष महाधिवेशनमार्फत निम्न महत्वपूर्ण नीतिगत संकल्प प्रस्तावहरू पेस गरी पारित गर्न हाम्रो प्रयास रहनेछ ।
१. चुनावी गठबन्धन नगर्ने स्पष्ट नीतिः
नेपाली कांग्रेसको आफ्नै विचार, संगठन र शक्तिमाथि विश्वास गर्दै आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने नीतिगत निर्णय गर्ने ।
२. निर्वाचन पश्चात् संविधान संशोधनको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नेः
संविधानको रक्षा गर्दै आवश्यक संशोधन र परिमार्जनका विषयहरू आगामी निर्वाचन सम्पन्न भएपछि जननिर्वाचित प्रतिनिधिमार्फत अघि बढाउने स्पष्ट कार्यदिशा तय गर्ने ।
३. नियमित महाधिवेशनको सुनिश्चितताः
पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन विधानले तोकेको समयमै नियमित महाधिवेशन अनिवार्य रूपमा हुने व्यवस्था सुनिश्चित गर्ने ।
४. मितव्ययी र विश्वासको राजनीतिः
जनतामा व्याप्त नैराश्यतालाई चिर्दै आगामी निर्वाचनमा शत्रुतापूर्ण व्यवहारलाई अन्त्य गर्दै मित्रवत प्रतिस्पर्धा र आर्थिक मितव्ययिता सहित निर्वाचनमा प्रतिस्पर्धाको संस्कार विकास गर्ने ।
५. जेन-जी आन्दोलनको मर्म अनुसार युवा सहभागिताको सुनिश्चितताः
पार्टीलाई वर्तमान र भविष्यसँग जोड्न जेन-जी पुस्ताको भावना, सोच र ऊर्जालाई आत्मसात गर्दै नीति निर्माण, नेतृत्व विकास र निर्णय प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने ।
६. पार्टीको तहगत संरचनात्मक संगठन र नेतृत्व चयनमा सुधारः
पार्टी अधिवेशनमा वडा, पालिका, प्रदेश सभा र क्षेत्रस्तरमा प्रतिनिधि मुखी अधिवेशनको अभ्यास अन्त्य गर्दै, तहगत संरचनात्मक संगठनलाई सशक्त बनाउने । सोही अनुरूप तहगत संरचनाका पदाधिकारीहरू क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि र महासमितिहरूमध्येबाट छनोट हुने व्यवस्था र तहगत संरचनाको वार्षिक सिनेटर बैठक बस्ने व्यवस्था पार्टी विधानमै सुनिश्चित गरी नेतृत्व विकासमा प्रेरणा र संस्थागत स्थायित्व प्रदान गर्ने ।
पार्टीको नीतिगत दिशा, संगठनात्मक संरचना र भावी नेतृत्व निर्माण गर्ने यो ऐतिहासिक विशेष महाधिवेशनमा पाल्पा जिल्लाबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूको सक्रिय, जिम्मेवार र नेतृत्वदायी सहभागिता अत्यन्त आवश्यक रहेको छ । यद्यपि पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको “ऐतिहासिक दोस्रो विशेष महाधिवेशन” मा पाल्पाको गरिमामय उपस्थितिले यस महाधिवेशनलाई अझ अर्थपूर्ण, सशक्त र ऐतिहासिक बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त रहँदै सक्रिय सहभागीताको लागि हार्दिक अपिल गर्दछौं ।
“नितिगत स्पष्टता, युवा सहभागिता र सांगठनिक सुदृढीकरण हाम्रो संकल्प” जय नेपाल !
हिमाल दत्त श्रेष्ठ सभापति








































Comments