७५ वर्षे यात्रासँगै मोहन कन्या माध्यमिक विद्यालयको हिरक महोत्सव सम्पन्न
पाल्पा-पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या विद्यालय मोहन कन्या माध्यमिक विद्यालय ७५ वर्षे यात्रामा प्रवेश गर्दै भव्य रूपमा हिरक महोत्सव सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित उक्त महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभयो । कार्यक्रममा पाल्पा क्षेत्र नम्बर २ का संघीय सांसद ठाकुर गैरे, संविधानसभा सदस्य नारायणी शर्मा, लुम्बिनी प्रदेश सांसद वीरबहादुर राना, इन्दा गहतराज, पाल्पामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो ।
महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयले गरेको योगदानलाई ऐतिहासिक भन्दै आगामी दिनमा प्राविधिक र जीवनोपयोगी शिक्षामा अझ प्रगतिशील कदम चाल्नुपर्नेमा जोड दिनुभयो । सांसद ठाकुर गैरेले विद्यालयले समाजमा ल्याएको चेतना प्रशंसनीय रहेको उल्लेख गर्दै यसलाई प्रदेश तथा संघीय सरकारको सहकार्यमा अझ सबल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । संविधानसभा सदस्य नारायणी शर्माले छोरीहरूको शिक्षा र सशक्तीकरणका लागि मोहन कन्याले खेलेको भूमिका अविस्मरणीय रहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक दीपक ज्ञवालीका अनुसार महोत्सव विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमसहित सफलतापूर्वक सम्पन्न गरिएको हो । उहाँले यसअघि विद्यालयले पूर्वविद्यार्थी पुनर्मिलनसहित विभिन्न गतिविधिहरू सम्पन्न गरिसकेको जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयलाई अझ सबल बनाउन सबैको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो ।
सन् २००७ सालमा छोरीहरूको लागि छुट्टै छात्रावासको व्यवस्था गर्दै स्थापना भएको मोहन कन्या माध्यमिक विद्यालयले कठिन सामाजिक परिस्थितिमा छोरीहरूको शिक्षालाई सहज बनाउन ठूलो योगदान पुर्याएको थियो । समाजमा छोरीहरूको शिक्षाप्रति उदासीनता छाउँदा मोहन कन्याले शिक्षा प्राप्त गर्ने वातावरण निर्माण मात्र गरेन, पाल्पा र पश्चिम क्षेत्रमा महिला शिक्षाको आधारशिला समेत कायम गर्यो । सात दशक लामो यात्रामा विद्यालयले विद्यालय तहदेखि कक्षा ११–१२ सम्म व्यवस्थापन, शिक्षा र कम्प्युटर इञ्जिनियरिङ संकायसहित प्राविधिक शिक्षामा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
हाल विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने कक्षा ९ देखि १२ सम्म करिब एक सय चालीस विद्यार्थी अध्ययन गरिरहेका छन् । अधिकांश विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । साथै विद्यालयले नयाँ भर्ना हुने विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक, कक्षा ८ सम्म निःशुल्क दिवा खाजा, कम्प्युटर विज्ञानमा OJT गर्दा छात्रवृत्ति लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ । यसरी सुविधासहितको अध्ययन–अध्यापनका कारण विद्यालय पश्चिम क्षेत्रमै प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ ।
हिरक महोत्सवले विद्यालयको गौरवशाली इतिहासलाई मात्र उजागर गरेको छैन, भविष्यप्रति नयाँ संकल्प पनि बोकेको छ। प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले विद्यालयलाई प्रदेश र संघीय सरकारको सहकार्यमा प्राविधिक तथा आधुनिक शिक्षाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । विद्यालयले आगामी दिनमा विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको समेत जानकारी दिइएको छ ।
७५ वर्षे लामो यात्रामा विद्यालयले असंख्य विद्यार्थीलाई शिक्षाको उज्यालोमा ल्याउँदै समाजमा चेतना फैलाएको छ। सामाजिक, राजनीतिक र आर्थिक स्तरमा उपेक्षा खेपिरहेका शैक्षिक संस्थाहरू धरासयी हुँदै गएको वर्तमान अवस्थामा मोहन कन्याले हिरक महोत्सव सम्पन्न गर्नु सामान्य उपलब्धि मात्र होइन, पाल्पा र सम्पूर्ण पश्चिम क्षेत्रमा कन्या शिक्षाको गौरवशाली गाथा पनि हो ।








































Comments