विगेन नेपालले तानसेनमा निःशुल्क ‘थर्मल थेरापी’ सेवा शुभारम्भ

पाल्पा,  विगेन नेपालले निःशुल्क सेवा प्रदान गर्ने गरी पाल्पा सेन्टरको सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सेवा प्रारम्भ गरेको हो । केही समय अघिदेखि अनौपचारिक रुपमा सेवा दिर्दै आए पनि हिजोदेखि भने विधिवत् रुपमा सेवा सुरु गरिएको विगेन नेपालले जनाएको छ । सेवाको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले रिवन काटेर शुभारम्भ गरेका हुन् । सेवाको प्रारम्भ गर्दै नगर प्रमुख श्रेष्ठले यस अभियानमा जोडिन सबै नागरिकलाई आग्रह गरे । उनले आगामी दिनमा तानसेनका सबै वडाहरुमा विगेन नेपालको सहकार्यमा थर्मल थेरापी सेवा सुरु गर्ने बताए ।

 

पूर्व सांसद तथा नेकपा एकिकृत समाजवादीका नेता यादवबहादुर रायमाझीले अभियान प्रभावकारी रहने आफुले विश्वास लिएको बताए । उनले भने “नेपालमा स्वास्थ्य उपचार महँगो छ । तर हामीले त्यही महँगो उपचारलाई विश्वास गर्छौं, निःशुल्क उपचारलाई विश्वास गर्दैनौ, यो सेवा निःशुल्क भए पनि प्रभावकारी रहने विश्वास मैले लिएको छुु ।” नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आफ्ना सन्तानले आमा बुवाहरुलाई नहेरेको अवस्थामा विगेन नेपालले जुन काम गरेको छ त्यो प्रशंसनिय रहेको बताए । उनले सेवा लिएर लाभान्वित हुन पाल्पाली आमाबुुवाहरुलाई आग्रह गरे । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र  भट्टराईले सरकारले गर्नु पर्ने काम निजि क्षेत्रले गरेकोमा संस्थाको प्रशंसा गरे ।

उनले स्थानीय सरकारले शिविरमार्फत यस्ता सेवालाई वडा तहमा पुर्‍याउनुपर्नेमा जोड दिए । उपभोक्ता मञ्चका केन्द्रीय सदस्य माधव नेपालले राम्रा र नराम्र कुराहरुलाई ध्यानमा राखेर काम गर्न संस्थालाई आग्रह  गरे । उनले सबै भन्दा प्यारो आफ्नो स्वास्थ्य भएकाले स्वस्थ जीवनमा ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले पछिल्लो समय खानपान र व्यस्त जीवन शैलीका कारण मानव जीवन  अस्तव्यस्त बन्दै गएको अवस्थामा थर्मल थेरापी उपचार पद्धति महत्वपूर्ण हुने बताए । उनले यसको व्यापक प्रचार–प्रसार गरी सबै क्षेत्र र वर्गका नागरिकलाई सेवामा समाहित गर्न संस्थालाई आग्रह गरे ।

 

संस्थाका संस्थापक अध्यक्ष प्रकाश श्रेष्ठले देशभरका ८२ वटा केन्द्रमार्फत थेरापी सेवा सञ्चालन गर्दै आएको बताए । उनले रोगग्रस्त व्यक्तिहरूलाई निःशुल्क उपचार प्रदान गर्दै स्वास्थ्यप्रति जागरुक बनाउनु विगेन नेपालको मुख्य उद्देश्य रहेको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले स्थानीय सरकारसँग सहकार्य गरी नीति निर्माण र बजेट व्यवस्थापनमा समेत प्रभावकारी भूमिका खेल्दै भविष्यमा अझ धेरै क्षेत्रमा सेवा विस्तार गर्ने योजना लिएको बताए । संस्थाले सोही अवसरमा जेष्ठ नागरिक सइ कुमार शाही र विष्णुप्रसाद उदयलाई सम्मान समेत गरेको छ । संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षता, संस्थाका ओनर प्रेमराज श्रेष्ठको स्वागत, रोजबहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments