वडा स्तरीय रनिङ शिल्ड मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०८२ शुरू
पाल्पा-नारायण युवा क्लबको आयोजनामा सम्पन्न वडा स्तरीय रनिङ शिल्ड मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०८२ खेलकुद प्रतिस्पर्धा मात्र नभई युवाशक्ति, सामाजिक एकता र सकारात्मक सोचको साझा उत्सवका रूपमा शुरू भएको छ ।प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिहरूले व्यक्त गरेका आत्मीय, प्रेरणादायी र व्यवहारिक भनाइहरूले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले खेलकुदलाई जीवन निर्माणसँग जोड्दै युवाका लागि यसको महत्व स्पष्ट पार्नुभयो । उहाँले खेलकुदले जित र हार दुवै स्वीकार गर्न सिकाउने, अनुशासन र सहकार्यको भावना विकास गर्ने तथा युवामा आत्मविश्वास बढाउने आधार तयार गर्ने बताउनुभयो । वडा स्तरबाट सुरु हुने यस्ता प्रतियोगिताले भविष्यमा जिल्लास्तर, प्रदेशस्तर हुँदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने बलियो जग बसाल्ने उल्लेख गर्दै उहाँले तानसेन नगरपालिकाबाट खेलकुद विकासका लागि निरन्तर सहयोग रहने जानकारी दिनुभयो ।
विशिष्ट अतिथि नारायण युवा क्लबका संस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठले सीमित साधनका बाबजुद युवालाई सकारात्मक दिशातर्फ डोर्याउने उद्देश्यले क्लब स्थापना गरिएको स्मरण गराउनुभयो । खेलकुदले युवालाई लागुऔषध, हिंसा र नकारात्मक गतिविधिबाट जोगाउन प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले आज देखिएको उत्साह, सहभागिता र अनुशासनले क्लबको लक्ष्य सही दिशामा अघि बढिरहेको अनुभूति दिलाएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पन्जियार थारुले खेलकुद र शान्ति सुरक्षाबीचको सम्बन्ध स्पष्ट पार्नुभयो । उहाँले प्रहरी संयन्त्रले अपराध नियन्त्रण गर्ने काम गर्ने भए पनि खेलकुदले अपराध हुनै नदिने वातावरण सिर्जना गर्ने उल्लेख गर्नुभयो । खेलाडीहरू समाजका लागि उदाहरणीय पात्र भएको बताउँदै अनुशासन र मर्यादाले समाजमा सकारात्मक सन्देश प्रवाह हुने धारणा राख्नुभयो । शसस्त्र प्रहरी बल ३५ नं. गुल्म हे. क्या पाल्पाका शसस्त्र प्रहरी निरीक्षक दिपेन्द्र बहादुर मल्लले युवालाई खेलकुदमा सक्रिय गराउनु सुरक्षा दृष्टिले समेत सकारात्मक भएको उल्लेख गर्नुभयो ।
त्यसैगरी तानसेन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा क्लबका पूर्व अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले वडा स्तरबाट सुरु भएका खेलकुद गतिविधिलाई निरन्तरता दिन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष एवं प्रतिनिधि महेशमान बज्राचार्य, क्लबका सल्लाहकार शकुन्तला बज्राचार्य, कानुनी सल्लाहकार अधिवक्ता शंकर प्रसाद शर्मा, सल्लाहकार शान्ति झेडी, क्लबका पूर्व सल्लाहकार तथा अमरनारायण गुठी व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायण प्रसाद कोइराला, नारायण टोल विकास संस्थाका अध्यक्ष अनिशा बज्राचार्य, बडिज्ञान टोल विकास संस्था (क) का अध्यक्ष आशा बराल, बडिज्ञान टोल विकास संस्था (ख) का अध्यक्ष निर्मला ढेकेजु, असनटोल टोल विकास समिति (१) का अध्यक्ष मान कुमारी अस्लामी, (२) का अध्यक्ष कान्तिमाया आले, (३) का अध्यक्ष अनुराधा बज्राचार्य, मेहलधारा टोल विकास समितिका अध्यक्ष कमला पौडेल, सृजनशील टोल विकास समितिका अध्यक्ष सरस्वती शर्मा, धवलमार्ग टोल विकास समितिका अध्यक्ष शान्ति नेपाल (धर्मचन्द्र नेपाल) तथा खलङ्गा डाँडा टोल विकास समितिका अध्यक्ष मिना थापाको उपस्थिति रहेको थियो ।क्लबका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुनील बज्राचार्य, सचिव विष्णु प्रसाद श्रेष्ठ, कोषाध्यक्ष सतिस राज शाक्य तथा सहसचिव अरबिन्द्र काजी शाक्यले कार्यक्रम व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । कार्यक्रम नारायण युवा क्लबका अध्यक्ष विनायक महर्जनको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन विनोद भारतीले गर्नुभएको थियो । प्रतियोगिता यही १० र ११ गते दुई दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।








































Comments