धार्मिक आस्थाको केन्द्र: बराङ्दी घिउसिबासमा श्रीमद्भागवत महायज्ञ सम्पन्न

पाल्पा-बगनासकाली गाउँपालिका वडा नं ८, बराङ्दी घिउसिबासले यसपटक धार्मिक आस्था र सामाजिक एकताको प्रतीकका रूपमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१ सम्पन्न गरेको छ । नाै दिनसम्म चलेको यस महायज्ञले समग्र गाउँको वातावरणलाई भक्ति, श्रद्धा र एकताको रंगले रंगीन बनायो ।

 

महायज्ञको पहिलो दिन कलश यात्राले सम्पूर्ण गाउँलाई जागृत बनायो । परम्परागत बाजागाजा र सुसज्जित झाँकीहरूको साथमा निकालेको शोभायात्राले धार्मिक उर्जालाई पुनर्जागृत गरायो । यज्ञस्थलमा श्रीमद्भागवतको वाचन र व्याख्या आरम्भ भएपछि गाउँलेहरूको ध्यान अध्यात्मतर्फ आकर्षित भएकाे थियाे । कथावाचकहरूले श्रीमद्भागवतका विविध अध्यायहरूको गहिरो अर्थ र त्यसको आधुनिक जीवनमा प्रयोगबारे प्रवचन गरे । साथसाथै भजनकीर्तन, नृत्यनाटिका र सामूहिक आरतीले कार्यक्रमलाई थप जीवन्त बनायो । धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस महोत्सवमा स्थानिय बासिन्दा, धार्मिक संघसंस्था, तथा श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो । 

 

महायज्ञमा महिला बाचिका विदुषी गरिमा उपाध्याय भक्त किंकरीले श्रीमद भागवत बाचन सहित देवलिला, जनचेतनामुलक नाटक, संगितमय भजन कृर्तन प्रस्तुत गर्नुभएको थियाे । यज्ञमा प्रस्तुति गरिएको धार्मिक प्रवचन, भजनकीर्तन, नृत्य नाटिका लगायतका कार्यक्रमहरूले उपस्थित श्रद्धालुहरूले आध्यात्मिक लाभ प्राप्त गर्नु भएको थियाे ।

 

महोत्सवमा संकलित रकमबाट बगनासकाली गाउँपालिकाको उत्तरी क्षेत्रलाई धार्मिक पर्यटकीय तीर्थस्थल बनाउने उद्देश्य सहित सिद्धबाबा मन्दिर परिसरमा सत्संग हल निर्माण र मन्दिरको चौतर्फी विकास गर्नको साथै मन्दिर परिसरमै भव्य नागको विराट मूर्ति निर्माण गर्ने उद्देश्यका साथ श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन गरिएको मूल आयोजक समितिका संयोजक गणेश प्रसाद बस्यालले जानकारी दिनुभयाे ।

 

धार्मिक महोत्सवले बगनासकाली गाउँपालिकाको सांस्कृतिक पहिचानलाई थप बलियो बनाउनुका साथै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास लिएकाे महायज्ञ मुल आयाेजक समितिका सचिव एवम सामाजिक अभियान्ता "राष्ट्रप्रेमी"सुशील बस्यालले बताउनुभयो । श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव समापन कार्यक्रममा समर्पित आयोजक समिति, स्वयंसेवक, र दाताहरूलाई विशेष धन्यवाद सहित प्रमाणपत्रले सम्मान गरिएको बताउनुभयो । 

 

बराङ्दी घिउसिबासमा सम्पन्न श्रीमद्भागवत महायज्ञ धार्मिक मात्र नभई सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको प्रतीक बनेको बगनासकाली गाउँपालिका वडा न ८ का वडा सदस्य कृष्ण प्रसाद बस्यालले बताउनुभयो ।  यसले गाउँको धार्मिक उन्नति मात्र होइन, सामाजिक समृद्धिमा पनि ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।  महायज्ञले छोडेको सकारात्मक प्रभावले बगनासकाली र आसपासका क्षेत्रलाई लामो समयसम्म प्रेरित गर्ने विश्वासको लिएको बताउनुभयाे ।

 

मन्दिरमा तीन सय वर्ष अगाडिदेखि नै पूजाआजा हुँदै आएको छ ।  यस क्षेत्रमा निरन्तर नागदेवता,शव, विष्णु,भगवती लगायतका देवी देवताहरूको बासस्थान भएकोले भक्तजनको सेवा सुविधा देखी मन्दिरमा आवश्यक पूर्वाधार निर्माण गर्नको लागि महायज्ञ गरिएको सिद्धवावा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितीका अध्यक्ष मोहन  अर्यालले जानकारी दिनुभयाे ।

Comments