देश माओवादीको एजेण्डामा अघि बढेकाे छ : नेता पुन
पाल्पा - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले देश माओवादीको एजेण्डामा अघि बढेकाे बताउनुभएकाे छ । उहाँले अहिले देश माओवादीको एजेण्डामा अघि बढेपनि केही दललाइ स्वीकार गर्न गाह्राे परेकाे दावी गर्नुभयाे ।
नेकपा माओवादी रैनादेवी छहरा गाउँ समितिको तेस्रो अधिवेशन सम्वोधन गर्दै पुर्वअर्थमन्त्री वर्षमान पुनले केही राजनीतिक दलहरूले जनयुद्धको त्याग, मूल्य मान्यता, गौरवलाई आत्मसात् गर्न नचाहे पनि त्यसबाट प्राप्त उपलब्धिहरू भने लिन खोज्ने प्रवृत्ति रहेको बताउनुभयाे । पुनले माओवादीले देशलाई नयाँ जिम्मेवारीसहित नेतृत्व गरिरहेको उल्लेख गर्नुभयाे । उहाँले दश वर्षे जनयुद्धपछि नेपालमा संघीय गणतन्त्र, समानुपातिक प्रणाली, धर्म निरपेक्षता र सामाजिक न्याय स्थापना भई समाज नयाँ युगमा प्रवेश गरेको बताउनुभयाे । उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) नयाँ एजेण्डा तय गर्न असक्षम रहेको आरोप लगाउनुभयाे । पुनले भन्नुभयाे, “कांग्रेस र एमालेका कारण जनतामा निराशा र आक्रोश मात्रै छ। तर, माओवादीले देशलाई नयाँ एजेण्डा प्रदान गर्नुपर्छ।
उहाँले भविष्यमा देशको आर्थिक समृद्धि, समाजवाद उन्मुख शासन प्रणाली र समानताको पक्षमा माओवादी केन्द्रले अग्रसर भूमिका खेल्ने दाबी गर्नुभयाे । नेकपा माओवादी लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पाल्पा जिल्लाको समग्र विकासका लागि माओवादी नेतृत्व आवश्यक रहेको बताउनुभयाे । बरालले स्थानीय तहमा माओवादी नेतृत्व नभएसम्म नागरिकको समृद्धि सम्भव नहुने दावी गर्नुभयाे ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नेत्रप्रसाद पाण्डेयका अनुसार पार्टीप्रति जनताको आकर्षण फेरि बढ्दै गएको बताउनुभयाे । प्रदेश सचिवालयका प्रमुख यक्ष पोखरेलले पाल्पामा माओवादी शक्तिशाली क्षेत्रका रूपमा उदय भइरहेको बताउनुभयाे । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा, संविधानसभा सदस्य लिला सोमै, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की लगायतका नेताहरूले पार्टीलाई अझ बलियो बनाउन सबै कार्यकर्ताहरू सक्रिय हुनुपर्ने धारणा राख्नुभयाे । रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष युवराज थापाको स्वागत मन्तव्यबाट अधिवेशन सुरु भएको थियो । नेकपा माओवादी केन्द्र रैनादेवी छहरा गाउँ समिति अध्यक्ष पदम सोमैको अध्यक्षता र सचिव प्रदीप पौडेल सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अधिवेशनले पदम सोमैको अध्यक्षतामा ४१ सदस्यीय गाउँ समिति चयन भएको छ ।








































Comments