दोभानमा इम्प्लान्ट सेवा लिएकी सुत्केरीको बाटोमै ज्यान गयो !

पाल्पाको तिनाउ गाउँपालिका–२, दोभान स्वास्थ्य चौकीमा इम्प्लान्ट लगाएकी सुत्केरीको बाटोमै मृत्यु भएको छ। ४० दिनकी सुत्केरी तथा ३२ वर्षीया चमेली सारु बसबाट फर्किने क्रममा बेहोस भएकी थिइन् । सिद्धार्थ राजमार्गको झुम्सा आमबोट नजिकै उनी अचेत भएपछि प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिँदा चिकित्सकले मृत घोषणा गरे । हातको माथिल्लो भित्री भागमा इम्प्लान्ट लगाएर सार्वजनिक सवारी साधन बसमा फर्किने क्रममा सिद्धार्थ राजमार्गको झुम्सा आमबोट नजिकै आइपुग्दा बेहोस भएको परिवारले जनाएका छन् । चमेलीका ससुरा मानबहादुर सारुका अनुसार दोभान स्वास्थ्य चौकीमा गई इम्प्लान्ट राखेर घर फर्किने क्रममा बुहारी चमेली एक्कासि बसमै बेहोस भएकी थिइन् ।

 

एक्कासि चक्कर लागेपश्चात् गाडीबाट बाहिर ओराली नजिकैका स्थानीयलाई र प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ कर्मचारीसमेतलाई बोलाई प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको हो । चिकित्सकले जाँच गरेपछि चमेलीलाई मृत घोषणा गरिदिएका थिए  । ‘मेरी बुहारीको मृत्यु के कति कारणले भयो ?’ ससुरा मानबहादुरले इलाका प्रहरी कार्यालय बुटवलमा दिएको जाहेरीमा उल्लेख छ, ‘यसको उचित छानबिन गरियोस् ।’

सोमबार निधन भएकी सारुको बुधबार लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ । वडा सदस्य टंक बस्यालका अनुसार पोस्टमार्टम गरी आफन्तलाई शव बुझाइएको छ । 

 

दोभान स्वास्थ्य चौकी प्रमुख ठाकुर कुँवरले अनुभवी सिनियर अनमिबाट इम्प्लान्ट लगाइएको र सबै प्रोटोकल पूरा गरेर मात्र राखिने भएकाले स्वास्थ्यकर्मीको गल्ती नभएको दाबी गरे । उनका अनुसार इम्प्लान्टले हर्मोन छोडेर गर्भ बस्न नदिने भएकाले यसअघि लगाएकाले यसपटक पनि लगाइएको हो । यसको प्रभावकारिता तीनदेखि पाँच वर्षसम्म रहन्छ । मृतक सारुका यसअघि दुई छोरी छन् । यसपटक उनको छोरा जन्मिएको थियो । तिनाउ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले इम्प्लान्टका कारण त्यस्तो समस्या नहुनुपर्ने बताए । ‘महिलामा अन्य कुनै समस्या भएका कारण त्यस्तो भएको हुन सक्छ,’ उनले भने, ‘अहिले हामीले यही कारणले मृत्यु भएको हो भन्न सकिँदैन ।’ कान्तिपुरमा खबर छ । 

Comments