द भ्वाइस अफ नेपाल–७ मा अन्जनाको भावनात्मक उडान

रमेश राना 

पाल्पा-नेपाली सांगीतिक रियालिटी शो दि भ्वाइस अफ नेपाल सिजन–७ अन्तिम चरणतर्फ प्रवेश गरिसकेको छ । प्रतिस्पर्धा जति चर्किंदै गएको छ, त्यति नै दर्शकको चासो पनि बढिरहेको छ । यही क्रममा दर्शक, श्रोता र समर्थकहरूको हृदयमा विशेष स्थान बनाउन सफल नाम हो — अन्जना सारु मगर । “म हृदयबाट गाउनेछुहजुर हृदयले साथ दिनुस है” भन्ने उनको भावनात्मक अभिव्यक्तिले अहिले सामाजिक सञ्जालदेखि प्रत्यक्ष दर्शकसम्म गहिरो प्रभाव पारेको छ ।पाल्पा जिल्लाको माथागढी गाउँपालिका वडा नं. ४, झडेवामा जन्मेकी अन्जना सानै उमेरदेखि गीत–संगीतमा गहिरो रुचि राख्दै हुर्किएकी हुन्। गाउँघरको परिवेश, मेलापात, चाडपर्व र लोकधुनहरूले उनको बाल्यकाललाई संगीतसँग जोडिदियो। फुर्सद पाउने बित्तिकै गीत गुनगुनाउने, स्वर साध्ने र लोकगीतप्रति झुकाव राख्ने स्वभावकै कारण अन्जनाको संगीत यात्रा सानैदेखि अगाडि बढ्दै आयो । 

 

लोकसंगीतको उर्वर भूमि मानिने माथागढी गाउँपालिकाकै भूमीमा जन्मनु भएकी अन्जना नेपालका लोकसंगीतका महान हस्तीहरू लक्ष्मण रायमाझी, नारायण रायमाझी, दुर्गा रायमाझी तथा इन्द्र जिसीबाट अत्यन्तै प्रभावित भएको बताउनुहुन्छ । ती अग्रज कलाकारहरूको सिर्जना, संघर्ष र योगदानले नै आफूलाई लोकसंगीतप्रति अझ समर्पित बनाएको अन्जनाको भनाइ छ। “लोकसंगीत हाम्रो पहिचान हो, यसलाई नयाँ पुस्तासम्म पुर्‍याउनु मेरो कर्तव्य हो,” अन्जना भन्छिन् । वि.सं. २०७४ मा कोलगेट इमेज लोक कलाकार उपाधि जितेपछि अन्जनाको सांगीतिक यात्राले थप गति लियो। विभिन्न स्टेज कार्यक्रम, प्रतियोगिता र प्रस्तुतीमार्फत उनले आफ्नो स्वर र क्षमता प्रमाणित गर्दै आइरहेकी छन्। दि भ्वाइस अफ नेपाल सिजन–७ मा सहभागी भएपछि त उनको प्रतिभा देशव्यापी रूपमा चिनिन थाल्यो। अडिसनदेखि ब्याटल र नक्सआउट हुँदै लाइभ चरणअघिका सबै राउन्डमा उनले हरेक कोचलाई प्रभावित पार्दै सहज तरिकाले लाइभ राउन्डमा प्रवेश गरिन्।

 

लाइभ चरणमा प्रवेश गरेसँगै अब निर्णायक अधिकार कोचहरूमा मात्र सीमित नरही दर्शकको भोटिङमा निर्भर रहने भएको छ । यही कारण अन्जनाले सम्पूर्ण आम दर्शक, समर्थक तथा शुभेच्छुकहरूसँग टप–२ मा पुग्नका लागि पहिलेभन्दा बढी भोट गरिदिन भावुक अपिल गरेकी छन् । उनको गायकीमा केवल स्वरको मिठास मात्र होइन, पीडा, संघर्ष र आत्माको आवाज मिसिएको अनुभूति दर्शकले गरिरहेका छन् । यस प्रतिस्पर्धाका क्रममा अन्जनाको व्यक्तिगत जीवनमा भने कठिन समय चलिरहेको छ। उनका बुबा गम्भीर बिरामी भई अस्पतालको बेडमा उपचाररत छन् भने अन्जना स्वयं दि भ्वाइस अफ नेपाल सिजन–७ को अन्तिम–अन्तिम प्रतिस्पर्धामा उभिएकी छन्। यही दोहोरो संघर्षबीच पनि उनले हिम्मत हार्न नदिई स्टेजमा उभिएर सम्पूर्ण नेपाली दर्शकको हृदय छोइरहेकी छन् । “समयले मेरो निकै कठिन परीक्षा लिइरहेको छ, तर संगीतले मलाई बल दिइरहेको छ,” अन्जनाको भनाइ छ । 

 

उनको यही संघर्ष, समर्पण र लोकसंगीतप्रतिको माया अहिले लाखौँ दर्शकका लागि प्रेरणाको स्रोत बनेको छ । लोकधुनलाई आधुनिक मंचमा सम्मानका साथ प्रस्तुत गर्दै अगाडि बढिरहेकी अन्जनाले नेपाली लोकसंगीत क्षेत्रलाई जीवन्त राख्न महत्वपूर्ण योगदान दिइरहेकी छन् । यसैले भैरव प्रेस डट कम परिवारको तर्फबाट पनि सम्पूर्ण दर्शक, समर्थक तथा संगीतप्रेमी महानुभावहरूलाई खल्ती एप डाउनलोड गरी धेरैभन्दा धेरै भोट गरेर अन्जना सारु मगरलाई टप–२ मा पुर्‍याउन हार्दिक अनुरोध गर्दछौँ । 

Comments