तेस्रो नौलो बिहानी भलिबल कपको उपाधि रामपुरको बरभङ्ज्याङ्गलाई

होम राई मगर

 पाल्पा / १३ फागुन । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,सात्दोबाटमा संचालित तेस्रो नौलो बिहानी भलिबल कपको उपाधि रामपुरको बरभङ्ज्याङ्गले हात पारेको छ । 

 

फागुन १० गते देखि सन्चालन भएको खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगितामा बरभङ्ज्याङ्गले निस्दीको रनगुवा टोललाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । बिजेता टोलीले नगद २५ हजार,कप,मेडल र प्राप्त गरेका छन् भने उपबिजेताले नगद १५ हजार,ट्रफी र प्रमाणपत्र पाएका छन् । जम्मा १८ समूह रहेको प्रतियोगितामा निस्दीको हुबासले तृतीय स्थान हासिल गरे संगै नगद १० हजार,ट्रफी,मेडल र प्रमाणपत्र पाएका छन् । यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीमा हुवासका अमृत सारु,उत्कृष्ट स्पाइकरमा बरभङ्ज्याङ्गका सनम बिक र उत्कृष्ट सेटरमा रनगुवाका मुस्कान राई पुरस्कृत भएका थिए । प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा वडा नम्बर-६,अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीले नेपालको ग्रामीण स्तर देखि नै भलिबल खेलको बिकास भएको चर्चा गर्नुभयो ।

 

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष सुनारीले खेलकुदको माध्यमबाट व्यक्तिगत बिकाससंगै समाज र देशको गौरव बढाउन सहयोग हुने बताउनुभयो । कार्यक्रममा पाल्पा लोक आइडल धनमाया दिसुवा मगर,सुरेन्द्र बिसी,पर्वत खण्डलु,नेत्र फाल,स्मारिका राई र रागब समूहको सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो । सात्दोबाटको खेल मैदानमा सम्पन्न भएको कार्यक्रमको सन्चालन मनोज मश्राङ्गीले गर्नुभएको हो ।

Comments