त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाले गर्याे जर्नल लाेकार्पण,सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

पाल्पा-त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले जर्नल लाेकार्पण,सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाकाे आयाेजनामा भएको कार्यक्रमकाे प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय शिक्षा अध्यक्ष खड्क केसिले उद्घाटन गर्नु भएको हाे । 

 

कार्यक्रमलाई सम्बाेधन गर्दै  शिक्षा अध्यक्ष खड्क केसिले विश्वविद्यालयमा लामो समयदेखि जरा गाडेर बसेको वेतिथि अन्त्यका लागि अहिले सकारात्मक कदम चालेको बताउनुभयो । उहाँले विशेष गरी आंशिक करारमा कार्यरत प्राध्यापकहरूको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न क्रमश प्रयास गरिने बताउनुभएको छ । उहाले आशिक करार प्राध्यापकहरू विश्वविद्यालयको शैक्षिक गुणस्तर कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएता पनि उहाहरू स्थायित्व, सेवा सुरक्षाको अभावमा काम गरिरहेका बताउनुभयो । विश्वविद्यालयले यी समस्याहरू समाधान गरेर प्राध्यापकहरूलाई स्थायित्व दिनु पहिलो प्राथमिकता रहेको बताउदै यस तर्फ सकारात्मक कदम प्रारम्भ गर्ने बताउनुभयो । 

यस्तै, विश्वविद्यालयमा समयमै परीक्षा नहुनु र नतिजा प्रकाशनमा ढिलाइ हुने समस्या सुधार गर्न प्रयास गरिरहेकाे  बताउनुभयो । उहाँले परीक्षा प्रणालीलाई डिजिटल बनाउने र प्रशासनिक प्रक्रियामा पारदर्शिता ल्याउने योजना अघि सारेकाे बताउनुभयो । आगामी दिनमा परीक्षा र नतिजा प्रकाशनलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक संरचनात्मक सुधार गरिने र पाठ्यक्रम परिमार्जन र आधुनिक प्रविधिको प्रयोगमा जोड दिने पनि बताउनुभएको छ । शिक्षा अध्यक्ष केसिले त्रिविका पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरअनुसार परिमार्जन गर्दै प्राविधिक र व्यावहारिक पक्षलाई बलियो बनाइने बताउनुभयो । 

 

कार्यक्रमका विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालय पाेखराका सहनियन्त्रक राम नाथ न्याैपानेले त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाले देशका लागि दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयाे । उहाले क्याम्पसले केवल शैक्षिक उपलब्धिमा मात्र नभई सामाजिक र व्यावसायिक क्षेत्रका लागि पनि योग्य मानव संसाधन तयार पारेको बताउनुभयो । क्याम्पसले प्रदान गर्दै आएको शैक्षिक गुणस्तरको प्रशंसा गर्दै समयानुकूल पाठ्यक्रम परिमार्जन र नवप्रवर्तनमा त्रिभुवन विश्वविद्यालयले  ध्यान दिनुपर्ने बताउनुभयो ।  गुणस्तरीय शिक्षा र व्यवहारिक ज्ञानका माध्यमबाट मात्रै देशका विभिन्न क्षेत्रहरूमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो । 

 

कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा शैक्षिक गुणस्तर र विद्यार्थीहरूको संख्या विगतका वर्षहरूको तुलनामा रूपमा वृद्धि भएको बताउनुभयो । क्याम्पसमा विज्ञान, व्यवस्थापन, शिक्षा, र मानविकी संकायहरूमा अध्ययन हुँदै आएकाे छ । क्याम्पसले देशका लागि सक्षम र दक्ष जनशक्ति उत्पादन गरेको बताउनुभयो । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका स्वतन्त्र विद्यार्थी युनियनका सभापति कृष्ण अर्यालले समय र परिस्थितिअनुसार पाठ्यक्रम परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयाे । उहाले आधुनिक र व्यवहारिक शिक्षाको अभावले क्याम्पसभन्दा विदेश रोजगारीमा जाने युवा जमातको भिडभाड बढ्दै गएको बताउनुभयाे । शिक्षालाई रोजगारमुखी बनाउन सके मात्र विद्यार्थीहरूको आकर्षण क्याम्पसतर्फ फर्किन सक्ने कुरामा जाेड दिनुभयाे । उहाले त्रिभुवन विश्वविधालयले पाठ्यक्रम सुधार र व्यावहारिक जोड दिन आग्रह गर्नुभयाे । यथास्थितिमा परिवर्तन नगरे देशमै दक्ष जनशक्ति तयार गर्न कठिन हुने अर्यालले बताउनुभयो ।

 

कार्यक्रममा पुर्व क्याम्पस प्रमुख चाेलेश्वर शर्मा,पुर्व क्याम्पस प्रमुख केशव राज शर्मा,सम्मानित व्यक्तित्वकाे तर्फबाट रामेश्वर बजिमाेया,प्राध्यापक संघका सदस्य अरिविक कुमार मलेग, त्रिभुवन बहुमुखी क्याम्पस कर्मचारी संघका सभापतिले ढुकुल ढकाल लगाएले मन्तव्य राख्नु भएको थियाे । कार्यक्रम त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक पन्तकाे अध्यक्षता र सहायक क्याम्पस प्रमुख सन्तोष खनालकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Comments