त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा पनि कम्प्युटर विज्ञान तथा सूचना प्रविधि पढ्न पाइने !
पाल्पा-जिल्लाको सदरमुकामस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि ( विएससी सिएसआइटी) पढाई हुने भएको छ । शुक्रबार क्याम्पसले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । यहाँका विद्यार्थीलाई यो विषय पढ्नका लागि लाखौं खर्च गरेर बाहिर जानुपर्ने बाध्यता थियो । यो विषयमा प्रोग्रामिङ, सफ्टवेयर विकास, नेटवर्किङ, वेब टेक्नोलोजी, डाटाबेस, कृत्रिम बौद्धिकता (AI), साइबर सुरक्षा लगायत पढाइ हुने क्याम्पस प्रमुख डाक्टर टंक प्रसाद पन्थले बताउनुभयो ।
क्याम्पसले यस विषयमा अध्यापन गराउन ३६ जनाको कोटा पाएको छ । पाल्पा सहित स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वत र बागलुङका विद्यार्थी लाभान्वित हुनेछन् । यो आधुनिक प्रविधिलाई सुहाउने पढाई हो। विज्ञान विषय लिई १२ वा प्राविधिक धारतर्फ १०० पूर्णाङ्कको फिजिक्स र १०० पूर्णाङ्कको गणित उतीर्ण गरी कम्तिमा सि ग्रेड ल्याएको विद्यार्थीले यस विषय पढ्न पाउने पन्थले बताउनुभयो ।
८ सेमेस्टेर पढेपछि अध्ययन कार्य सकिनेछ। पूर्णरूपमा पढ्नका लागि बढी तीन लाख रुपैयाँँ खर्च लाग्ने छ । अन्य ठाउँमाभन्दा पाल्पामा यस विषय अध्ययन गर्नका लागि ७ देखि ८ लाखसम्म खर्च लाग्ने गरेको क्याम्पसका पूर्व प्रमुख टंक भट्टराईले बताउनुभयो । एम एससी सिएसआइटी अध्ययन गरेका प्राध्यापकले अध्यापन गराउने उहाँले बताउनुभयो ।
कार्यालयमा नगई घरबाट नै जिम्मेवारी कामहरू सम्पादन हुनुले पनि आजका युवा यस विषय अध्ययन गर्न आकर्षित भएका उहाँले बताउनुभयो । विज्ञान तथा प्रविधिको आजको युगमा यस्ता विषयको पठनपाठनले पाल्पा जस्ता मोफसलका ठाउँमा रहेका योग्य विद्यार्थीलाई सहयोग पुग्ने नेपाल पत्रकार महासंघ पाल्पाका सभापति कमलराज तिमिल्सिनाले बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो ।
त्रिभुवन बहुमुखी क्याम्पस पुरानो क्याम्पस हो । २०११ सालमा स्थापना भएको यस क्याम्पस पश्चिम क्षेत्रकै शैक्षिक हबको रूपमा परिचित थियो । बीचमा केही सुस्ताएको क्याम्पसमा पछिल्लो समय करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् । यहाँ साधारण विषय सहित बिबिए र बिबिएम पनि अध्ययन हुँदै आएको छ । कार्यक्रम सहायक क्याम्पस प्रमुख सन्तोष खनाल, प्राध्यापक कृष्ण कार्कीले गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो ।








































Comments