त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा : स्ववियुका अनुभवी नेविसंघ उम्मेदवारहरुको क्रेज बढ्दो
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आउँदै गरेको चैत्र ५ गतेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा अनुभवी उम्मेदवारलाई अघि सारेको छ । यसपटक स्ववियु पदाधिकारी चयनमा नेविसंघले दुई वर्ष स्ववियुमा काम गरेका उम्मेदवारहरूलाई प्राथमिकता दिएको छ । सभापति पदमा पुनः कृष्ण अर्याललाई नै उम्मेदवार बनाइएको छ । उनी २०७९ को स्ववियु निर्वाचनपछि सभापति भएका थिए । त्यसबेला नेविसंघले भागबण्डाको आधारमा सभापति पद मात्र पाएर सचिव र कोषाध्यक्ष पद गुमाएको थियो । यही कारणले, यसपटक संगठनले अनुभवी नेतृत्वलाई निरन्तरता दिने निर्णय गरेको हो ।
सचिव पदमा सुशील बस्याललाई उम्मेदवार बनाइएको छ । उनी दुई वर्ष स्ववियु सदस्यको रूपमा काम गरिसकेका छन् । नेविसंघका एक विद्यार्थी नेताका अनुसार, यदि २०७९ को स्ववियु गठनमा सचिव वा कोषाध्यक्ष पदमा नेविसंघले भूमिका पाएको भए सोही आधारमा उम्मेदवार प्रस्तुत गर्ने सम्भावना उच्च थियो । तर, यसपटक अनुभवी र संगठनप्रति प्रतिबद्ध उम्मेदवारलाई अघि सारिएको छ । कोषाध्यक्ष पदमा मिस्मा रानालाई उम्मेदवार बनाइएको छ । उनले अघिल्लो कार्यकालमा विभिन्न विद्यार्थी गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा नेविसंघको सशक्त उपस्थिति बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेकी छिन् । यस निर्वाचनका लागि नेविसंघले संगठन सुदृढीकरण, विद्यार्थी हकहित तथा क्याम्पस विकासलाई मुख्य एजेन्डा बनाएको छ । सभापति पदका उम्मेदवार कृष्ण अर्यालले त्रिभुवन बहुमुखी क्याम्पसको गौरवमय इतिहासलाई जोगाउँदै थप रचनात्मक काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनका अनुसार, अघिल्लो कार्यकालमा सुरु गरिएका केही योजनाहरूलाई पूर्णता दिनका लागि आफूले पुनः उम्मेदवारी दिएको हो ।
विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका अर्यालले नेविसंघको संगठनात्मक सुदृढीकरणमा विशेष योगदान दिएका छन् । उनी नेतृत्वमा रहँदा क्याम्पसभित्र विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन भएका थिए । यही कारण, संगठनले उनलाई निरन्तरता दिने निर्णय गरेको बताइएको छ । यसपटकको स्ववियु निर्वाचनलाई नेविसंघले विशेष महत्त्वका साथ लिएको छ । संगठनका नेताहरूले विद्यार्थीका दीर्घकालीन हितका लागि आफ्नो एजेन्डालाई केन्द्रमा राखेर प्रचारप्रसार गरिरहेका छन् । उम्मेदवार चयनमा संगठनभित्र व्यापक छलफल गरी अनुभव, क्षमता र लोकप्रियतालाई मुख्य मापदण्ड बनाइएको एक विद्यार्थी नेताले बताएका छन् ।
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको स्ववियु निर्वाचन विद्यार्थीहरूका लागि विशेष चासोको विषय बनेको छ । विभिन्न विद्यार्थी संगठनहरू आ–आफ्ना उम्मेदवारसहित चुनावी प्रतिस्पर्धामा छन् । नेविसंघले पनि आफ्नो संगठनलाई बलियो बनाउने रणनीतिसहित चुनावी मैदानमा होमिएको छ । विद्यार्थीहरूको विश्वास जित्दै संगठनलाई अझै मजबुत बनाउन सक्षम नेतृत्व चयन गर्ने लक्ष्यका साथ यो निर्वाचनमा सहभागी भएको नेविसंघका नेताहरू बताउँछन् ।








































Comments