तिनाउमा निर्वाचन परिचालन समिति गठन, उमेदवार श्रेष्ठको सम्बोधन

पाल्पा-नेपाली काँग्रेस पाल्पा क्षेत्र नं. २ अन्तर्गत तिनाउ गाउँपालिकामा आयोजित निर्वाचन परिचालन समिति गठन तथा उमेदवारसँग भेटघाट कार्यक्रममा प्रतिनिधि सभा उमेदवार हिमाल दत्त श्रेष्ठले क्षेत्रको समग्र विकासका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा पार्टी नेता–कार्यकर्ता सहभागिता रहेको थियो । उमेदवार श्रेष्ठले निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धाभन्दा पनि विकास, समृद्धि र जनताको भविष्यसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गर्नुभयो । उहाँले संसदमा पुगेर पाल्पा क्षेत्रका दीर्घकालीन विकासका मुद्दालाई नीतिगत रूपमा अघि बढाउने बताउनुभयो ।

 

उमेदवार श्रेष्ठले पाल्पा क्षेत्रको आर्थिक विकासका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधार बनाउने योजना रहेको बताउनुयो । उहाँले तिनाउ क्षेत्रमा रहेका सत्यवती मन्दिर, सिद्धबाबा मन्दिर, सुकेताल, मरामकोट, जन्तीलुङ्ग लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको व्यवस्थित विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । पर्यटनले रोजगारी सिर्जना गर्छ, स्थानीय उत्पादनको बजार विस्तार गर्छ र युवालाई स्वराजगार बनाउने आधार तयार गर्छ,” उहाँले भन्नुभयो । श्रेष्ठले लुम्बिनी र पोखरालाई केन्द्रित गरी पाल्पालाई ‘वान डे स्टे हब’ का रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सार्नुभयो । उहाँले लुम्बिनी आउने धार्मिक पर्यटक र पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पाल्पामा एक रात बिताउने वातावरण सिर्जना गरिने बताउनुभयो । यसका लागि सडक, यातायात, होटल, होमस्टे, पर्यटक सेवा केन्द्र, डिजिटल सूचना प्रणाली तथा सुरक्षा व्यवस्थालाई सुदृढ गरिने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । “यदि पर्यटक पाल्पामा बस्ने वातावरण बनाउन सक्यौं भने यहाँका होटल, होमस्टे, कृषि उत्पादन, यातायात र सेवामूलक क्षेत्रमा ठूलो आर्थिक गतिविधि बढ्छ,” उहाँले भन्नुभयो, “यसले युवालाई यहीँ रोजगारी दिनेछ ।”

 

चुनावी प्रतिस्पर्धाका विषयमा बोल्दै उमेदवार श्रेष्ठले निर्वाचनलाई शत्रुगत व्यवहार होइन, मित्रतापूर्ण प्रतिस्पर्धाका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचनमा आर्थिक मितव्ययीता, पारदर्शिता र सभ्य राजनीतिक संस्कृतिको विकास आवश्यक रहेको बताउँदै नकारात्मक राजनीति र विभाजनको राजनीतिलाई अस्वीकार गर्न आग्रह गर्नुभयो । “चुनाव जनताको उत्सव हो, समाजलाई विभाजित गर्ने माध्यम होइन,” उहाँले भन्नुभयो । साथै उहाँले जनताको विश्वास जित्ने गरी विकासका स्पष्ट योजना प्रस्तुत गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा प्रदेश सांसद बिर बहादुर रानाले प्रदेश सरकारबाट तिनाउ क्षेत्रमा गरिएको विकास कार्यबारे जानकारी गराउनुभयो । उहाँले कचल फाँट सिँचाइ योजना, झुम्साखोला पक्की पुल निर्माण तथा तिनाउ वडा नं. ६ मा रहेका होमस्टे विकासका लागि बजेट विनियोजन गरी काम गरिएको बताउनुभयो । रानाले नेपाली काँग्रेस नयाँ नेतृत्वसहित निर्वाचनमा प्रवेश गरेको उल्लेख गर्दै उच्च मनोबलका साथ उमेदवारलाई विजयी गराउन सबै कार्यकर्ता र समर्थकलाई आग्रह गर्नुभयो ।

 

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गैरे, तिनाउ गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापा, पाल्पा क्षेत्र नं. २ का सभापति मुक्तिराम जिसी लगायतका नेताहरूले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको स्वागत नेपाली काँग्रेस पाल्पा जिल्ला सदस्य विष्णु पाण्डेयले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विनोद खत्रीले गर्नुभएको थियो । कार्यक्रम प्रेम पाण्डेयको सभापतित्वमा सम्पन्न भएको थियो ।

Comments