तानसेनमा उत्कृष्ट ४० उद्यमी सम्मानित, आर्थिक सशक्तीकरणमा जोड
पाल्पा- तानसेन नगरपालिकाको आयोजना तथा दायित्वको सहकार्यमा सञ्चालित “वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम (GEEP)” अन्तर्गत तानसेन नगरपालिकाभित्रका उत्कृष्ट ४० जना उद्यमीहरूलाई एक विशेष समारोहका बीच सम्मानित गरिएको छ। स्थानीय स्तरमै उद्यमशीलताको विकास, रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउनुभएका उद्यमीहरूलाई सम्मानित गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले नगर क्षेत्रका व्यवसायीहरूलाई थप हौसला प्रदान गरेको छ । कृषि, पर्यटन, हस्तकला, सेवा तथा उत्पादनमूलक क्षेत्रका उद्यमीहरूलाई छनोट गरी सम्मानित गरिएको कार्यक्रममा सहभागी उद्यमीहरूले आफ्नै मेहनत र नवीन सोचमार्फत स्थानीय स्रोत साधनको सदुपयोग गर्नुभई उदाहरणीय कार्य गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले उद्यमशीलता नै समृद्ध नगर निर्माणको प्रमुख आधार भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउदै नगरपालिकाले उद्यमशीलताको विकासमा प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु आजको आवश्यकता हो, र त्यसका लागि उद्यमशीलता सबैभन्दा प्रभावकारी माध्यम हो।” साथै उहाँले सीप विकास, लगानी सहजीकरण तथा बजार पहुँच विस्तारमार्फत उद्यमीहरूलाई थप सशक्त बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा उप–प्रमुख प्रतिक्षा सिङ्जालीले महिलाहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको बताउदै महिला उद्यमशीलता प्रवर्द्धनमा नगरपालिकाले विशेष जोड दिएको धारणा राख्नुभयो ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत चेत नाथ गिरिले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन उद्यमशीलताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले उद्यमीहरू नै आर्थिक विकासका प्रमुख आधार रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा सम्मानित हुनुभएका उद्यमीहरूले पनि आफ्नो मेहनतको कदर गरिएकोमा खुसी व्यक्त गर्नुभई यस्ता कार्यक्रमले थप प्रेरणा मिल्ने बताउनुभयो । कार्यक्रम अधिकृत अस्मिता क्षेत्रीले वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सीप, पूँजी र बजारको पहुँच विस्तारमार्फत उद्यमीहरूलाई आत्मनिर्भर बनाउन कार्यक्रम केन्द्रित रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रम तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरू, कर्मचारीहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्दै आर्थिक गतिविधिलाई सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ । यस्ता सम्मानित कार्यक्रमहरूले नयाँ उद्यमीहरूलाई प्रेरणा दिनुका साथै विद्यमान उद्यमीहरूको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ ।








































Comments