तानसेनमा श्री सिद्धिविनायक गणेश मन्दिरको रथयात्रा शताब्दी, ७० जना सम्मानित

पाल्पा— सेनकालीन समयदेखि भाषा, कला, संस्कृति, साहित्य, परम्परा र सम्पदामा धनी पाल्पाको तानसेन शहरको शिरमा अवस्थित श्रीनगर डाँडाको काखमा रहेको ऐतिहासिक श्री सिद्धिविनायक गणेश मन्दिरको रथयात्रा निकालिएको १०० औँ वर्षको अवसरमा शनिबार विशेष कार्यक्रम सम्पन्न भएको छ । यस अवसरमा मन्दिर तथा रथयात्राको व्यवस्थापन, संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने करिब ७० जना भक्तजन, समाजसेवी र संस्थालाई सम्मान गरिएको हो । 

 

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले रथयात्रा जस्ता सांस्कृतिक र धार्मिक सम्पदाले नगरको गौरव र पहिचानलाई बलियो बनाउने बताउनुभयो । उहाले भन्नुभयो यो हाम्रो सामूहिक धरोहर हो, यसलाई पुस्तौँसम्म जोगाएर राख्नु हाम्रा सन्तानप्रति हाम्रो जिम्मेवारी रहेको बताउदै नगरपालिकाले प्रत्येक बर्ष जात्रा,मेला महोत्सव र सास्कृति कला सस्कृतिको संरक्षण र प्रवर्द्वनमा लागि सहयोग गर्दै आएको बताउनुभयो । विशिष्ट अतिथि, पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले सामाजिक एकता र सहकार्यलाई मजबुत बनाउने बताउनुभयो । यस्ता रथयात्राले आस्था, परम्परा र संस्कृतिको संरक्षणमा ठूलो योगदान पुर्याउँने विश्वास व्यक्त गर्नुभयो  

 

गुठियार तथा नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले लिगल, सुवाल, महर्जन र श्रेष्ठ परिवारले २०४९ सालदेखि गुठियारबाट रथयात्रा सञ्चालन गर्दै आएको स्मरण गर्नुभयो । नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेको खुसीयालीमा भगवती जात्रा जस्तै गणेशको रथयात्रा निकाल्ने गरिएको उहाले बताउनुभयो । श्रेष्ठका अनुसार परापुर्वक देखि गणेशको रथयात्रा विशेष गरी तानसेनका चार घर परिवारले सुरु गरेका थिए । पछिल्लो समय यहाँका तीन घर परिवार बसाईसरी बाहिर गएपछि अहिले श्रेष्ठ परिवारले गुठीमार्फत यो रथयात्रा निकाल्ने गरेका छन् । विगत १०० वर्षदेखि गुठीमार्फत यो जात्रा निकाल्ने गरिएको छ । तानसेनमा थुपै रथयात्रा निकाल्ने गरिए पनि गणेशको रथ निकालेपछि मात्र अन्य रथ निकाल्ने प्रचलन रहेको छ । नेवार समुदायको परम्परागत संस्कृतिलाई बचाई राख्न हरेक वर्ष गणेशको रथ निकाल्ने गरिएको हो । नेवारी समुदायमा जनैपूर्णिमादेखि जात्राहरु सुरु भएपनि गणेशको रथयात्रा निकालेपछि मात्र अन्य रथहरु निकाल्न बाटो खुला भएको गुठियार श्रेष्ठले बताउनुभयो । यो बर्ष १०० औं गणेश रथयात्रा परेकाले तयारी तीव्र पारिएको श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा श्री सिद्धिविनायक गणेश मन्दिरको रथयात्रा समितिका सस्थापक सदस्य बुद्वि शर्मा,तानसेन गुठीका अध्यक्ष सकुन्तला बज्रचार्य,भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जन लगाएतले मन्तव्य राख्नुभएको थियो । 

 

कार्यक्रममा मन्दिरको संरक्षण, रथयात्राको निरन्तरता र धार्मिक–सांस्कृतिक चेतनामा योगदान पुर्याउने व्यक्तिहरूलाई मरकान्ता सम्मान, संघ–संस्थालाई सम्मान, गुठियार र रथयात्रा समुदायलाई खादा,टिका र प्रमाणपत्रले विशेष सम्मान प्रदान गरिएको थियो । यस अवसरमा श्रीगणेश, नारायणस्थान मन्दिर र भगवती सेनाले बधाई दिने परम्परा पनि निर्वाह गरिएको आयोजकहरूले जनाएका छन् । यो वर्षको कार्यक्रमअन्तर्गत फागुन २६ गते साँझ ७:३० बजेदेखि रातभर जाग्राम आयोजना हुनेछ भने साउन २७ गते दिउँसो १२:३० बजेदेखि भव्य रथयात्रा निकालिने श्रीनगर सिद्विविनायक सहयोग समिति अध्यक्ष केदार लाल श्रेष्ठले बताउनुभयो । कार्यक्रम श्रीनगर सिद्विविनायक सहयोग समिति उपाध्यक्ष गणेश सिङगैडाको स्वागत र सचिव दिपेन्द्र थैवको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम सस्कृतविद मदन लाल श्रेष्ठ र रविन्द प्रधानद्वारा लिखित कार्यपत्र वितरण गरिएको थियो   । 

Comments