तानसेनमा साना होटल, रेष्टुरेन्ट तथा लजका लागि ७ दिने आतिथ्य तालिम सुरु

पाल्पाको तानसेनमा साना होटल, रेष्टुरेन्ट तथा लज व्यवसायीहरूका लागि ७ दिने आतिथ्य तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना, काठमाडौंको सहकार्यमा पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको समन्वय तथा तानसेन नगरपालिका पाल्पाको आयोजनामा तालिम सञ्चालन गरिएको हो । 

 

कार्यक्रमको उद्घाटन तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोष लाल श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले तानसेनलाई दिगो पर्यटनको केन्द्रका रूपमा विकास गर्न आतिथ्य सेवा अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पर्यटक कुनै पनि स्थानमा पुग्दा सबैभन्दा पहिले होटल, रेष्टुरेन्ट तथा त्यहाँ पाइने सेवासँग प्रत्यक्ष रूपमा जोडिने भएकाले साना होटल, रेष्टुरेन्ट तथा लजहरूले प्रदान गर्ने सेवाले नै तानसेनको पहिचान र छवि निर्माण गर्ने बताउनुभयो । 

 

नगरप्रमुख श्रेष्ठले तानसेन ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण सहर भएको उल्लेख गर्दै ती सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै गुणस्तरीय, सफा, सुरक्षित र मैत्रीपूर्ण आतिथ्य सेवा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले तानसेन दरबार, भैरव मन्दिर, ऐतिहासिक बस्ती, प्राकृतिक दृश्य तथा मौलिक संस्कृति पर्यटकका लागि ठूलो आकर्षण रहेको बताउँदै यी सम्पदासँगै पर्यटकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न सके तानसेनमा पर्यटकको बसाइ लम्ब्याउन सकिने बताउनुभयो । 

 

उहाँले पर्यटन विकासका लागि स्थानीय तह, निजी क्षेत्र, पर्यटन बोर्ड, होटल तथा रेष्टुरेन्ट व्यवसायी र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै नगरपालिका एक्लैले मात्र पर्यटन विकास सम्भव नहुने स्पष्ट पार्नुभयो । संयुक्त प्रयासबाट मात्र तानसेनलाई दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने उहाँको भनाइ थियो । कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालीले तानसेनलाई पर्यटकीय नगरीको रूपमा विकास गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरू अगाडि बढाइरहेको बताउनुभयो । उहाँले पर्यटकीय गन्तव्यहरूको पहिचान, सेवा स्तरीकरण र पूर्वाधार विकासमार्फत पर्यटक आकर्षित गर्न सकिने उल्लेख गर्नुभयो ।

 

तानसेन नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सागर मान महर्जनले तालिममा सिकेका सीपहरू व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले साना होटलहरू नै पर्यटकहरूको पहिलो गन्तव्य हुने भएकाले ती होटलहरूको स्तरीकरण आवश्यक रहेको बताउनुभयो । साथै, तानसेन नगरपालिकाले पर्यटन परिषद गठन गरी योजनाबद्ध रूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले तानसेन पोखरा, लुम्बिनी र मुक्तिनाथ जाने पर्यटकहरूका लागि महत्वपूर्ण ट्रान्जिट पोइन्ट रहेको बताउनुभयो । उहाँले होटलहरूको स्तरीकरणसँगै स्थानीय खानालाई विशिष्टिकृत गर्नुपर्ने आवश्यकता औंल्याउँदै तानसेनमा रहेका पाल्पा दरबार, भैरव मन्दिर, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले पर्यटन व्यवसायले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले तालिमले व्यवसायीहरूको सेवा क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो भने कार्यक्रमको सञ्चालन संघका महासचिव जय राम सापकोटाले गर्नुभएको थियो । ७ दिने तालिममा आतिथ्य सेवा, ग्राहक व्यवहार, सरसफाइ, खाद्य गुणस्तर, स्थानीय परिकारको प्रवर्द्धन तथा पर्यटनमैत्री सेवासम्बन्धी विषयहरू समेटिने आयोजकले जनाएको छ ।

Comments