तानसेनमा साना होटल, रेष्टुरेन्ट तथा लजका लागि ७ दिने आतिथ्य तालिम सम्पन्न

पाल्पाको ऐतिहासिक तथा पर्यटकीय नगरी तानसेनमा साना होटल, रेष्टुरेन्ट तथा लज व्यवसायलाई गुणस्तरीय, मर्यादित र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित सञ्चालन गरिएको ७ दिने आतिथ्य तालिम सम्पन्न भएको छ । स्थानीय पर्यटन व्यवसायीहरूको सीप, सेवा प्रवाह र व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित आयोजना गरिएको यस तालिम नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना, काठमाडौंको सहकार्यमा सम्पन्न भएको हो । तालिम पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको समन्वय र तानसेन नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत रहेको TACT (Tourism Action Committee) को आयोजनामा सञ्चालन गरिएको थियो । तानसेन क्षेत्रका साना तथा मध्यम स्तरका पर्यटन व्यवसायीलाई व्यावसायिक रूपमा सशक्त बनाउँदै दीगो पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

तालिम समापन कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो । उहाँले आतिथ्य क्षेत्र पर्यटन उद्योगको आधारस्तम्भ भएको उल्लेख गर्दै सेवा, सरसफाइ, व्यवहार, अनुशासन र व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्न यस्ता तालिम अत्यन्तै आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले तानसेनको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई पर्यटनसँग जोड्दै स्थानीय रोजगारी सिर्जना गर्न नगरपालिकाले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउन नगरपालिकाले आगामी दिनमा पनि निजी क्षेत्र, पर्यटन व्यवसायी र सम्बन्धित निकायसँग सहकार्य गर्दै यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा तानसेन नगरपालिकाकी उप–प्रमुख प्रतिक्षा सिङ्जालीले आतिथ्य सत्कारको गुणस्तर सुधार नगरी पर्यटन विकास सम्भव नहुने बताउनुभयो । उहाँले पर्यटकको पहिलो अनुभव नै होटल, रेष्टुरेन्ट र लजबाट सुरु हुने भएकाले सेवा स्तर सुधारले पर्यटकको सन्तुष्टि र पुनः आगमनमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो । त्यसैगरी, TACT का संयोजक तथा तानसेन नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सागर मान महर्जनले स्थानीय व्यवसायीहरूको व्यवहारिक सीप विकासमा तालिम प्रभावकारी भएको बताउनुभयो । तानसेन नगरपालिकाका योजना शाखा प्रमुख दुर्गा थापाले योजनाबद्ध पर्यटन विकासका लागि दक्ष र सीपयुक्त जनशक्ति अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता तालिमले दीगो पर्यटनको आधार तयार गर्ने बताउनुभयो ।

 

कार्यक्रममा पाल्पा होम–स्टे संघका अध्यक्ष धनेश्वर बस्यालले आतिथ्य तालिमले होम–स्टे, साना होटल तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित, आकर्षक र विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै स्थानीय पर्यटनका गतिविधि र सकारात्मक अभ्यासलाई प्रचार–प्रसार गर्न सञ्चार क्षेत्र सधैं तत्पर रहने धारणा राख्नुभयो । तानसेन नगरपालिकाका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले स्थानीय तह, निजी क्षेत्र र सञ्चार माध्यमबीचको सहकार्य बिना पर्यटन विकास सम्भव नहुने उल्लेख गर्दै साझा प्रयासको आवश्यकता औंल्याउनुभयो ।

 

तालिमका प्रशिक्षक चिरन ढुङ्गानाले तालिममा ५१ जना सहभागी रहेको जानकारी दिँदै साना होटल, रेष्टुरेन्ट तथा लज व्यवसायका लागि आतिथ्य तालिम अत्यन्त आवश्यक रहेको बताउनुभयो । तालिममा सेवा प्रवाह, ग्राहक व्यवहार, सरसफाइ, खाद्य सुरक्षा, व्यवसाय व्यवस्थापन, पर्यटन आचारसंहिता लगायतका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । प्रशिक्षार्थीको तर्फबाट सङ्गीता भट्टराईले तालिम उपलब्धिमूलक र व्यवहारिक भएको बताउँदै प्राप्त ज्ञान व्यवसायमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुरुष प्रशिक्षार्थी चन्द्र कुमार श्रेष्ठले तालिमले व्यवसायलाई फरक ढंगले, व्यवस्थित र व्यावसायिक रूपमा सञ्चालन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । समापन कार्यक्रममा सहभागी ५१ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो, जसले उनीहरूलाई आगामी दिनमा अझ जिम्मेवार र आत्मविश्वासी रूपमा पर्यटन व्यवसाय सञ्चालन गर्न प्रेरणा दिने अपेक्षा गरिएको पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लक्ष्मण बस्यालले बताउनुभयो । कार्यक्रम पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ महासचिव जयराम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । 

Comments