तानसेनमा ‘सम्पदादेखि सम्पदा उकालो साइक्लिङ चुनौती’ प्रतियोगिता सम्पन्न
पाल्पा— रानीमहलदेखि तानसेनस्थित पाल्पा दरबार संग्रहालयसम्म ‘सम्पदादेखि सम्पदा उकालो साइक्लिङ चुनौती’ प्रतियोगिता शनिबार सम्पन्न भएको छ। प्रतियोगितामा ४५ वर्षमुनि र ४५ वर्षमाथिका दुई उमेर समूहका प्रतियोगीहरू सहभागी थिए। १६ देखि ४५ वर्ष उमेर समूहमा रुपन्देही बुटवलका निश्चल नेपाली पहिलो भए। १२ जना प्रतियोगीलाई पछि पार्दै उनले १५ किलोमिटर दूरी १ घण्टा ६ मिनेट ४२ सेकेण्डमा पूरा गरे। दोस्रो भएका रुपन्देहीकै निरज चौधरीले १ घण्टा ७ मिनेट २७ सेकेण्डमा दूरी पूरा गरे भने पाल्पा तानसेन बारुदखानका दिलीप जीसीले १ घण्टा १७ मिनेट ३६ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए। पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारका साथै मेडल, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो।
४५ वर्षमाथिको उमेर समूहमा पाल्पा तानसेनका सेते लामा तामाङ पहिलो भए। १३ जना प्रतियोगीलाई पछि पार्दै उनले १ घण्टा १९ मिनेटमा निर्धारित दूरी पूरा गरे। दोस्रो भएका रुपन्देही बुटवलका नारायण श्रेष्ठले १ घण्टा २१ मिनेट २६ सेकेण्डमा दूरी पूरा गरे भने पाल्पाकै कृष्णबहादुर सिंजालीले १ घण्टा २५ मिनेट ५६ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरे। यस समूहका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सबैभन्दा कम उमेरका रुपन्देहीका १६ वर्षीय निरज चौधरी र सबैभन्दा बढी उमेरका ५४ वर्षीय जनक लाल राना सहभागी थिए। प्रतियोगिता आयोजना गर्न पाल्पा जिल्ला साइक्लिङ संघलाई तानसेन पर्यटन समिति (TACT) तथा विभिन्न संघसंस्था र फर्महरूले सहयोग गरेका थिए। विजयी प्रतियोगीहरूलाई तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, संघका अध्यक्ष रुपेश महर्जन, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, लुम्बिनी खेलकुद परिषद् सदस्य राजु महर्जन, वडाध्यक्ष सागरमान महर्जन लगायतले नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।








































Comments