तानसेनमा संगम मेडिकल हलको सहयोग, फरक क्षमता छात्रवृत्ति घोषणा
पाल्पा-लायन्स क्लब अफ पाल्पा विपना सित्तलपाटीको संयोजनमा पाल्पा सि.बी.आर (Community Based Rehabilitation)लाई रु.१० हजार सहयोग हस्तान्तरण गरिएको छ । उक्त सहयोग राशि तानसेनस्थित संगम मेडिकल हलको सौजन्यमा प्रदान गरिएको हो ।
सहयोग कार्यक्रमको अवसरमा संगम मेडिकल हलका सञ्चालक तथा समाजसेवी रुक्मागत शर्माले आफ्नो जन्मदिन ९ जेठको दिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै प्रत्येक वर्ष स्थायी रुपमा रु. १० हजार पाल्पा सि.बी.आर लाई उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै, शर्माले पाल्पा सि.बी.आर अन्तर्गत आबद्ध मानसिक वा शारीरिक दुर्बलता (फरक क्षमता)भएका बालबालिकामध्ये एक जनालाई हरेक वर्ष रु.१० हजारको “संगम मेडिकल फरक क्षमता छात्रवृत्ति” स्थापना गर्ने घोषणा समेत गर्नु भएको छ । यस छात्रवृत्तिबाट शैक्षिक र अन्य आवश्यकतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा पाल्पा सि।बी।आर अध्यक्ष मधु दयाल शैजू, तानसेन नगरपालिका वडा नं. ६ का अध्यक्ष सागर मान महर्जन, पाल्पा सि.बी.आर का कार्यालय प्रमुख कृष्ण गहतराज, लायन्स क्लब अफ पाल्पा विपना सित्तलपाटीका पदाधिकारी, समाजसेवी सुशील प्रधान लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष महर्जनले फरक क्षमता भएका बालबालिकाको हितमा गरिएको यो कदम समाजकै लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो । त्यस्तै, पाल्पा सि।बी।आर अध्यक्ष शैजूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएका संगम मेडिकल हलका प्रोप्राइटर शर्माप्रति आभार व्यक्त गर्दै, यसले संस्थाको पुनर्स्थापना तथा बालबालिकाको सशक्तीकरणमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।लायन्स क्लब अफ पाल्पा विपना सित्तलपाटीका पदाधिकारीहरूले पनि यस्तो सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, अन्य संघ–संस्थाले पनि सामाजिक उत्तरदायित्वअनुरूप अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।








































Comments