तानसेनमा ‘प्रथम युनियन कप’ डबल ब्याडमिन्टन प्रतियोगिता सुरु

तानसेनमा ‘प्रथम युनियन कप’ डबल ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । नेपाल निजामती कर्मचारी युनियन पाल्पाको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भुसालडाँडामा रहेको कभर्डहलमा चलेको हो ।

 

प्रतियोगितामा पुरूषतर्फ ४६ टिममा ९२ जना खेलाडीको सहभागिता रहेको छ । त्यस्तै, महिलातर्फ ११ टिममा २२ जना खेलाडीले भाग लिएको निजामती कर्मचारी युनियनका अध्यक्ष ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो । पाल्पा जिल्लाभरका सघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच डबल ब्याडमिन्टन प्रतियोगिता राखिएको हो । पाल्पाका दुई नगरपालिका, आठ गाउँपालिकाका साथै संघीय र प्रदेश कार्यालयका कर्मचारीका बीचमा ब्याडमिन्टन प्रतियोगिता राखेको युनियनका सचिव हरिबहादुर थापाले बताउनुभयो ।

 

प्रतियोगितामा एउटै कार्यालयमा कार्यरत कर्मचारीको समूहले मात्र सहभागिता जनाएका छन् । प्रतियोगिताको पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले उद्घाटन गर्दै कर्मचारी स्वस्थ भए भने मात्र सेवाग्राहीको काम छिटोछरितो हुने बताउनुभयो । उहाँले इमान्दार र सेवाग्राही मैत्री भएर सेवा प्रवाह गर्नका लागि यस्ता प्रतियोगिताले सघाउने बताउनुभयो ।

 

तीनवटा कोर्टमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा डिभिजन वन कार्यालयको ‘बी’ समूहलाई पूर्वखोला गाउँपालिकाको ‘ए’ समूहले २–० को सोझो सेटमा पराजित गरेको छ । त्यस्तै अर्को कारागार कार्यालयको समूहले जिल्ला अदालत ‘बी’ समूहलाई २–० को सोझो सेटमा पराजित गरेको छ । महिलातर्फ कालीगण्डकी करिडोर आयोजना कार्यालयको ‘ए’ समूहले नापी कार्यालयको ‘बी’ समूहलाई २–० को सोझो सेटमा पराजित गरेको खेल संयोजक जीवन रानाले जानकारी दिनुभयो ।

 

प्रतियोगितामा पुरूषतर्फ प्रथम हुने समूहले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुने दुई समूहले ५÷५ हजार नगद तथा ट्रफी पाउनेछन् । महिलातर्फ पहिलो हुनेले ८ हजार, दोस्रो हुनेले ४ हजार र तेस्रो हुनेले दुई दुई हजार रूपैयाँका साथै ट्रफी पाउने संयोजक रानाले जानकारी दिनुभयो ।

Comments