तानसेनमा निकालियो गणेशको रथयात्रा

पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ । यो विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । स्थानीय व्यक्तिहरुको सहभागितामा निकालिएको श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा यस वर्ष भने बिहिबार हर्सोल्लासका साथ निकालिएको छ । श्रीनगर सिद्धि विनायक गणेश गुठीले बाजागाजा सहित गणेशको रथ निकालेको हो । ऐतिहासिक भगवती जात्राको झल्को दिने गरी गणेशको रथ निकालियो थियो । भगवतीको जात्रामा जस्तै युवाहरुले गणेशको रथ बोकेर नगर परिक्रमा गराएका थिए । अगाडि–अगाडि भजन, बाजा र पछिपछि रथ डुलाइएको थियो ।

 

परिक्रमा गर्न हिडालिएको रथमा तानसेनवासीले विभिन्न पर्सादहरु चढाउने गरेको देखिन्थ्यो । नेपाली सेनाले सलामी दिएसँगै गणेशको रथ निकालिएको गुठीले जनाएको छ । गणेश जात्राको इतिहास ऐतिहासिक भगवती जात्रासँग जोडिएको गुठीयार तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेको खुसीयालीमा भगवती जात्रा जस्तै गणेशको रथयात्रा निकाल्ने गरिएको उनले बताए । श्रेष्ठका अनुसार भगवती जात्राको प्रारम्भ भएदेखि गणेशको रथयात्रा निकाल्ने गरिएको हो । गणेशको रथयात्रा विशेष गरी तानसेनका चार घर परिवारले सुरु गरेका थिए । गुठियार श्रेष्ठका अनुसार यहाँका लिगल, सुवाल, महर्जन र श्रेष्ठ परिवारले गणेशको रथ निकाल्ने परम्पराको सुरुवात गरेका हुन् । पछिल्लो समय यहाँका तीन घर परिवार बसाईसरी बाहिर गएपछि अहिले श्रेष्ठ परिवारले गुठीमार्फत यो रथयात्रा निकाल्ने गरेका छन् । विगत ३० वर्षदेखि गुठीमार्फत यो जात्रा निकाल्ने गरिएको छ । तानसेनमा थुपै रथयात्रा निकाल्ने गरिए पनि गणेशको रथ निकालेपछि मात्र अन्य रथ निकाल्ने प्रचलन रहेको छ । नेवार समुदायको परम्परागत संस्कृतिलाई बचाई राख्न हरेक वर्ष गणेशको रथ निकाल्ने गरिएको हो । नेवारी समुदायमा जनैपूर्णिमादेखि जात्राहरु सुरु भएपनि गणेशको रथयात्रा निकालेपछि मात्र अन्य रथहरु निकाल्न बाटो खुला भएको गुठियार श्रेष्ठले बताए ।

 

गणेश जात्राका दिन बाघ जात्रा पर्ने गर्दछ । त्यसको भोलिपल्ट टक्सार टोल स्थित सूर्यविनायक गणेश जात्रा निकालिन्छ । अघिल्लो दिन जाग्राम बसीे भोलिपल्ट बाजागाजाका साथ गणेशको मूर्तिलाई खाटमा राखी बजार घुमाइन्छ । तानसेन बजार भित्र छ ठाउँमा गणेशका मन्दिरहरु रहेका छन् । टक्सार गणेश जात्राको भोलिपल्ट भिमसेन टोलबाट भिमसेन जात्रा निकालिन्छ । भिमसेन भनेका महाभारतका बलवान शक्तिशाली भिम हुन् । शितलपाटीमा पनि एउटा भिमसेन मन्दिर छ । यसको जात्रा भने माघ महिनामा भीमा द्धादशीको दिन निकालिन्छ ।

 

गणेश जात्रामा स्थानीय नागरिकहरू,समाजसेवी,विद्यालय,विभिन्न संघ सस्थाहरूको सहभागीता रहेको थियो । श्रीनगर गणेशको मन्दिरबाट शुरू भएको रथयात्रा सित्तलपाटी,पाल्पा दरबार,सिल्खानटोल,नारायण स्थान,तानसेन नगरपालिका,आन्दोलन चोक,बढिज्ञानटोल,पेट्रोल पम्प,टक्सार हुँदै पुन गणेश मन्दिरमा पुगी सम्पन्न भएको हो । श्री ७ सिद्वि विनायक गणेश सहयोग समितिका अध्यक्ष केदार लाल श्रेष्ठले यो बर्ष गणेशको रथयात्रा भव्य रूपमा निकालिएको बताए । अघिल्ला बर्षमा स्थानीय व्यक्तिहरूको सहभागीतामा जात्रा मनाउने गरिएता पनि यो बर्ष विद्यालयहरू,संघसंस्थाहरूको सहभागीमा रथयात्रा निकालिएको बताए ।

 

तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले तानसेनमा निकालिने जात्राहरूको संरक्षण प्रवर्द्वन गर्न नगरपालिका सहयोग गर्दै आएको बताए । तानसेनमा मनाइने जात्रा हाम्रो सम्पत्ति हो,सस्कार हो । यस्को संरक्षण र प्रवर्द्वन गर्नु नगरपालिकाको दायित्व रहेकाले नगरपालिकाले तानसेनमा मनाइने जात्रालाई सहयोग गर्दै आएको बताए । तानसेन वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्यले श्री ७ सिद्वि विनायक गणेशको मन्दिर तानसेन वडा न ३ मा पर्ने भएकोले मन्दिरको संरक्षण एवम जात्राको प्रवर्द्वन गर्न वडाले सहयोग गरिरहेको बताए । आगामी बर्ष मन्दिरलाई थप व्यवस्थित गर्न र जात्रालाई अझ भव्य रूपमा मनाउन वडाले भुमिका खेल्ने बताए ।

Comments