तानसेनमा माघ १५-२७ सम्म व्यापार महोत्सव हुने !!
पाल्पा–तानसेन नगरपालिकाले यही माघ १५ गतेदेखि टुँडिखेल मैदानमा तेस्रो तानसेन व्यापार महोत्सव गर्ने भएको छ । नगरपालिकाको आयोजनामा हुने “तेस्रो कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापार तानसेन महोत्सव–२०८२” ले स्थानीय आर्थिक विकासलाई टेवा पुर्याउन सहयोग गर्ने नगरपालिकाले जनाएको छ । तानसेनको पर्यटन, व्यापार, रोजगारी, कृषि र उद्योग क्षेत्रलाई चलायमान बनाउन एवम् ती क्षेत्रहरूको विकास र विस्तारमा समेत योगदान पुर्याउने नगर प्रमुख सन्तोषलाल श्रेष्ठको विश्वास छ । महोत्सवको व्यवस्थापन शर्मा निर्माण सेवाले गर्ने नगरपालिकाले जनाएको छ ।
प्रथम र दोस्रो तानसेन महोत्सवले नगरपालिकाको आन्तरिक राजस्वमा उल्लेख्य योगदान गरेकाले यसपटक पनि नगरपालिका आफैँले मेला आयोजना गर्न लागेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । मेला–महोत्सवले स्थानीय सरकारको राजस्व अभिवृद्धि गर्नुका साथै निजी क्षेत्रका लागि बजारीकरण र व्यापार प्रवर्द्धनको ठूलो अवसर सिर्जना गर्ने उहाँको भनाइ छ ।
जिल्लामै पहिलो पटक जजपरी, औद्योगिक वस्तु तथा सेवाहरूको प्रदर्शनी तथा प्रवर्द्धन, लगानीका अवसर सिर्जना र आकर्षण गर्ने तथा लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्दै साना उद्यमी एवं व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू रहेका छन् ।
महोत्सवमा कृषि तथा पशुजन्य उत्पादनको प्रवर्द्धन, विभिन्न प्रदर्शनी अन्तर्गत कृषि तथा पशुपंक्षी, प्रतियोगितात्मक कार्यक्रम, स्थानीय उत्पादन पाल्पाली ढाका, पाल्पाली करुवा, माटाका भाँडा, काठका ठेकाठेकीजस्ता कला तथा संस्कृतिको प्रदर्शनी हुने तयारी गरिएको छ । महोत्सवमा ३०० भन्दा बढी स्टल रहने र ५ लाखभन्दा बढी मानिसहरूले मेला अवलोकन गर्ने अनुमान गरिएको छ । कृषि उत्पादन, लघु तथा घरेलु उत्पादन प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटोमोबाइल, स्वास्थ्य, पर्यटन तथा स्वदेशी अन्य उत्पादनका प्रदर्शनी स्टलहरू रहनेछन् । यस महोत्सवमा ८ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकका लागि प्रवेश टिकटबापत भ्याट बाहेक साधारण टिकट ७५ रुपैयाँ, विद्यार्थीका लागि ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।








































Comments