तानसेनमा कृषकलाई ३ हजार ५ सय लोकल कुखुराका चल्ला वितरण; आत्मनिर्भरतातर्फ नयाँ यात्रा

पाल्पा– तानसेन नगरपालिका–१ की कृषक रेखा गिरि बिहानै कुखुराको खोरतिर जाँदा अनुहारमा झल्किएको खुशी अहिले झन् बढ्ने भएको छ । “अब घरमै केही गर्ने आधार भेटिएको छ,” उहाँ भन्नुहुन्छ, “यी चल्लाहरू हुर्काएर आम्दानी बढाउने ठूलो आशा छ ।” त्यस्तै वडा–१ कै अम्बिका भारती पनि निकै उत्साहित देखिनुहुन्छ । उहाँले सानो लगानीमा घरमै बसेर आयआर्जन गर्न सकिने अवसर मिल्नु महिलाहरूका लागि ठूलो उपलब्धि रहेको बताउनुहुन्छ । तानसेन वडा–११ का सुन्दर विष्टले यस कार्यक्रमले गाउँमै रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो भने माया विष्टले महिलाहरूको आर्थिक सशक्तीकरणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सबैको साझा अनुभवले के देखाउँछ भने, स्थानीय तहको पहलले अब परिवर्तनको ढोका खोलेको छ । 

 

पाल्पाको तानसेन नगरपालिका वडा नं. १ र ११ का कृषकहरूलाई  ३ हजार ५ सय लोकल कुखुराका चल्ला वितरण गरिएको छ । तानसेन आर्थिक विकास परियोजना अन्तर्गत कृषकहरूको मागका आधारमा यो कार्यक्रम सञ्चालन गरिएको हो । हेफर प्राेजेक्ट नेपालको आर्थिक एवम प्राविधिक सहयोग तथा ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमले ग्रामीण भेगका कृषकहरूलाई लक्षित गर्दै उहाहरूको आयआर्जन बढाउने, स्वरोजगार सिर्जना गर्ने र दीगो आर्थिक विकासतर्फ अग्रसर गराउने उद्देश्य रहेको छ । विशेष गरी स्थानीय जातका कुखुरा वितरणले कृषकहरूलाई दीर्घकालीन रूपमा फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ, किनकि यस्ता कुखुरा स्थानीय वातावरणमा सजिलै अनुकूलन हुने र रोग प्रतिरोधी हुने मानिन्छ । 

 

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले कृषकहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित नगरपालिकाले विभिन्न योजनाहरू सञ्चालन गरिरहेको बताउनुभयो । मासुमा आत्मनिर्भरता ल्याउन कुखुरा तथा बाख्रा वितरण, दूध उत्पादनका लागि गाई–भैंसी सहयोग, तरकारी उत्पादनका लागि बीउबिजन उपलब्ध गराउने, मौरीघार वितरण तथा कृषि औजार प्रदान गर्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको उहाँले उल्लेख गर्नुभयो । “कृषकहरू गाउँमै बसेर सम्मानजनक आम्दानी गर्न सक्षम बन्नुहोस  भन्ने नगरपालिकाको  लक्ष्य हो,” उहाँले भन्नुभयो । कार्यक्रमले कृषकहरूको जीवनस्तर सुधार गर्नुका साथै समग्र नगरको आर्थिक विकासमा पनि टेवा पुर्‍याउँने बताउदै कृषिलाई आधुनिक र व्यावसायिक बनाउन स्थानीय सरकारले निरन्तर पहल गरिरहेको उहाँको भनाइ थियो । 

 

कार्यक्रमका विशिष्ट अतिथि ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पा कार्यकारी निर्देशक लिला कार्कीले कृषकहरूको आर्थिक सशक्तीकरणका लागि संस्था सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो । उत्पादनलाई बजारसँग जोड्ने, मूल्य अभिवृद्धि गर्ने र सहकारीमार्फत कृषकहरूलाई संगठित बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो परियोजना तानसेन नगरपालिकामा ४ करोड ५८ लाख ५ हजार ३ सय ८० रुपैयाँमा सञ्चालन भएको बताउनुभयो । जसमा तानसेन नगरपालिकाको ३ करोड १७ लाख १ हजार ४ सय ५२ र हेफर प्रोजेक्ट नेपालको १ करोड ४१ लाख ५१ हजार ६ सय २८ रुपैयाँ लगानी रहेको छ ।  २१ महिनासम्म सञ्चालन हुने यस कार्यक्रमले नगरका ११ वटै वडाका कृषकहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने लक्ष्य राखिएको छ ।

 

कार्यक्रममा प्रशिक्षक अन्सु प्रधानले कुखुरा पालनसम्बन्धी प्राविधिक ज्ञान प्रदान गर्नुभएको थियो । दाना व्यवस्थापन, खोर सरसफाइ, रोग नियन्त्रण तथा उत्पादन वृद्धि गर्ने उपायबारे विस्तृत जानकारी दिँदै उहाँले सही तरिकाले पालन गरेमा कुखुरा व्यवसाय निकै लाभदायक बन्न सक्ने बताउनुभयो । कार्यक्रम ग्रामीण आर्थिक विकास संघ (रेडा) का प्राविधिक संयोजक विष्णु रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो भने तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल बस्याल र वडा न ११ का वडा अध्यक्ष यादब सिं कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय कृषकहरूको उत्साहजनक सहभागिता देखिएको थियो, जसले कार्यक्रमप्रति विश्वास र अपेक्षा दुवैलाई स्पष्ट रूपमा झल्काएको छ ।

Comments