तानसेनमा हनुमान जयन्ती मनाइयो

पाल्पा, जिल्लाको तानसेनमा हनुमान जयन्ती मनाइएको छ । शनिबार टक्सारमा रहेको हुनुमान मन्दिरमा पुजाआरधना सँगै रथयात्रा निकाली हनुमान जयन्ती मनाएको हो । हनुमान जयन्तीको अवसरमा भक्तजनहरूले तानसेन वडा न ३ हनुमान मन्दिरमा हनुमानको पुजा गर्नुभएकाे थियाे ।  चैत्र शुक्ल पूर्णिमा, रामदूत हनुमानको जन्मजयन्तीका रूपमा मनाउने गरिन्छ यस दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र संकटबाट मुक्ति पाइने विश्वास छ । हनुमान मन्दिर सनातन धर्म सेवा समितिको इष्ट (गुठ) देवता हुन् । 

 

हनुमान जन्मजयन्तीकाे अवसरमा बाजा सहित रथयात्रा गरि तानसेन बजार परिक्रमा गरिएको छ । रथयात्रा टक्सारकाे हनुमान मन्दिरबाट शुरू भई सित्तलपाटी,नारायण स्थान,भिमसेन टाेल,हुलाक घर,विशाल बजार,हुँदै पुन हनुमान मन्दिरमा अाई रथयात्रा गरिएको थियाे । टक्सार हनुमान मन्दिरका संरक्षक राजिव श्रेष्ठले तानसेनको धार्मिक सम्पदाहरुको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयाे । उहाले स्थानीयस्तरमा रहेको सांकृतिक, धार्मिक सम्पादहरुको संरक्षण र प्रवद्र्धन गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । 

 

शनिबार पाल्पासहित देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिएको छ । रामायण कथाहरू, पात्रहरू अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रूपमा देखिन्छन् । रामभक्त अनि बलवान हनुमानलाई बल र शाहसको पर्यायका रूपमा पनि अभिव्यक्त गरिएको पाइन्छ । यस अवसरमा देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना गर्नुका साथै शोभायात्रा निकालिएको छ । पौराणिक कथामा उल्लेख भए अनुसार अन्जानेरी पर्वतमा जन्मिएका हनुमानकी आमा अन्जना एउटी अप्सरा हुन् । जो आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतिका छोरा केशरी हुन् । हनुमानलाई पवन पुत्र पनि भनिन्छ । आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए । त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ । हनुमान बाहेक महाभारतका कुन्तीपुत्र भीम पनि पवनपुत्र हुन् ।

Comments