तानसेनमा हेफरको १२ आधारशिला तालिम, किसानमा आत्मनिर्भरता र सकारात्मक सोच बढ्दै
पाल्पाको तानसेन नगरपालिका, हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण आर्थिक विकास संघ (रेडा) को सहजीकरणमा सञ्चालित तानसेन आर्थिक विकास परियोजना अन्तर्गत हाल विभिन्न वडाहरूमा क्षमता अभिवृद्धि तथा आर्थिक रुपान्तरणका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । सोही परियोजनाले तानसेन नगरपालिका वडा नं–६ का माथिल्लो कुनसरे व्यवसायी कृषि समूहका २० जना सदस्यहरूलाई हेफरका १२ आधारशिला सम्बन्धी विस्तृत तालिम प्रदान गरेको हो । स्थानीय तहमै दिगो विकास प्रक्रियालाई सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको तालिम किसानहरूको सामाजिक, आर्थिक र व्यवहारिक क्षमतामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
तालिममा सहभागीहरूलाई हेफरका १२ आधारशिला—उपहार साटासाट, जवाफदेहिता, साझेदारी र हेरचाह, दिगोपन र आत्मनिर्भरता, उन्नत पशुपालन, पोषण र आय, लैङ्गिक समानता, वास्तविक आवश्यकता र न्याय, वातावरण सुधार, पूर्ण सहभागिता, तालिम र शिक्षा तथा आध्यात्मिकता/मानवीय मूल्य—जस्ता आधारभूत मूल्य र सिद्धान्तहरूको व्यवहारिक प्रयोग सिकाइएको हो। यी आधारशिलाले समुदायमा आत्मनिर्भरता, सहकार्य, दिगो कृषिको अभ्यास तथा सामाजिक उत्तरदायित्वको बोध गराउने उद्देश्य राख्छन् ।
ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाकी सामुदायिक सहजकर्ता सुनिता पाण्डेयका अनुसार परियोजना तानसेन नगरपालिकाको ७० प्रतिशत तथा हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ । उहाँले आधारशिला तालिमले समुदायमा सकारात्मक सोचको विकास, व्यवहार परिवर्तन, सामाजिक एकता र न्यायसंगत विकासको बाटो खुलाउने महत्त्वपूर्ण आधार तयार गरेको बताउनुभयो। उहाँले आधारशिलालाई व्यवहारमा उतार्न सके समूह तथा समुदाय दुवै तहमा प्रभावकारी परिवर्तन देखिने विश्वास पनि व्यक्त गर्नुभयो ।
तालिममा सहभागी सदस्य रिता पाण्डेयले १२ आधारशिलाको अवधारणाले आफूहरूलाई अझ सचेत र सक्षम बनाएको बताउनुभयो । उहाँले परियोजनाले विषादीमुक्त खानपानको प्रवर्द्धन, वातावरणमैत्री कार्य, आपसी मेलमिलाप र सहकार्य जस्ता अभ्यासहरूले समूहलाई अझ अनुशासित र जिम्मेवार बनाएको छ । परियोजनाले कृषि समूहहरूबीचको ऐक्यबद्धता बढाउने र स्वस्थ समुदाय निर्माणमा योगदान पुर्याउने विश्वास समेत उनले व्यक्त गर्नुभयो ।
त्यस्तै, समूहका सदस्य जीवन नारायण भण्डारीले तालिमले आफूहरूमा आत्मनिर्भरता, स्वाभिमान, सकारात्मक चेतना र समाजप्रति उत्तरदायित्वको भावना अभिवृद्धि गराएको उल्लेख गर्नुभयो । उहाँले हेफरका आधारशिलाले विभेदरहित, न्यायपूर्ण र दिगो समाज निर्माणमा मार्गदर्शन गर्दै स्थानीय कृषि उद्यमलाई बलियो बनाउन मद्दत पुर्याउने बताउनुभयो ।
तानसेनमा सञ्चालित हेफर आधारशिला तालिम केवल शिक्षा दिने कार्यक्रम मात्र नभई किसानको जीवनशैली, सोच, व्यवहार र सामाजिक दृष्टिकोणलाई रुपान्तरण गर्ने समुदाय–केन्द्रित प्रक्रिया बनेको छ । तालिमले आत्मनिर्भरता, जिम्मेवारी, सहकार्य र दिगो कृषि प्रणालीप्रति जनचेतना बढाउँदै कृषि समूहहरूलाई अझ संगठित र सशक्त बनाएको छ । सहभागीहरूको प्रत्यक्ष अनुभवले पनि परियोजनाले आर्थिक सुदृढीकरणसँगै सामाजिक रुपान्तरणतर्फ महत्वपूर्ण प्रभाव पारिरहेकाले तानसेन आर्थिक विकास परियोजना भविष्यमा दिगो, सक्षम र आत्मनिर्भर समुदाय निर्माणमा टेकेको महत्वपूर्ण आधारशिला बन्ने संकेत गरेको छ ।








































Comments