तानसेनको डुम्रे–गुफाचउर सडक कालोपत्रे सुरु !!
पाल्पा — विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माणाधीन तानसेन नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको डुम्रे–गुफाचउर सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । लामो समयदेखि निर्माण सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोग्दै आएको यस सडकको कालेोपत्रे सुरु भएपछि नगरबासीमा आशा पलाएको छ ।
तानसेन नगरपालिका–८ स्थित माथिल्लो डुम्रेदेखि तानसेन–१० गुफाचउर हुँदै तानसेन–३ होलाङ्दीसम्म जोडिने यो सडक नगरको महत्वपूर्ण गौरबको आयोजना हो । सडक स्तरोन्नतिको अधिकांश काम सम्पन्न भए पनि कालोपत्रे ढिलाइका कारण आयोजना निर्माणधीन अवस्थामा थियो । बाँकी रहेको कालोपत्रे कार्य सुरु भइसकेको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । निर्माण व्यवसायीले पटक–पटक म्याद थप गरेपछि तेस्रो पटकको म्याद थपसँगै कालेोपत्रे कार्य सुरु गरिएको हो । डुम्रे–गुफाचउर सडक स्तरोन्नतिका लागि निर्माण कम्पनी वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालिसँग ४५ करोड ७६ लाख ८३ हजार रुपैयाँमा १३ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर विभिन्न प्राविधिक, मौसमजन्य तथा व्यवस्थापकीय कारणले आयोजना निर्धारित समयमै सम्पन्न हुन सकेन ।
तानसेन नगर प्रमुख सन्तोष लाल श्रेष्ठले अब कुनै पनि बहानामा ढिलाइ सह्य नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “डुम्रे–गुफाचउर सडक तानसेन नगरपालिकाको अत्यन्तै महत्वपूर्ण र गौरवको आयोजना हो । समयमै सम्पन्न नहुँदा हामी पनि चिन्तित थियौँ । अब कालेोपत्रे सुरु भइसकेको छ, बाँकी काम तोकिएको समयभित्रै सक्न निर्माण कम्पनीलाई कडाइका साथ निर्देशन दिएका छौँ । "नगर प्रमुख श्रेष्ठका अनुसार सडक सम्पन्न भएपछि तानसेन नगरभित्रको यातायात व्यवस्था सहज हुने मात्र होइन, व्यापार, पर्यटन र सेवाप्रवाहमा समेत सकारात्मक प्रभाव पर्नेछ । “यो सडकले नगरका विभिन्न वडालाई जोड्ने भएकाले स्थानीय अर्थतन्त्र चलायमान हुन्छ । विद्यालय, स्वास्थ्य संस्था तथा बजारसम्मको पहुँच सहज हुने भएकाले नगरवासीको जीवनस्तरमा प्रत्यक्ष सुधार आउनेछ,” उहाँले बताउनुभयो ।
स्थानीयवासीहरूले लामो समयदेखि धुलो, हिलो र जोखिमपूर्ण सडकका कारण दैनिक आवतजावतमा समस्या झेल्दै आएका थिए । कालोपत्रे सुरु भएसँगै अब छिट्टै सुरक्षित र सहज सडक प्रयोग गर्न पाउने आशा स्थानीयले व्यक्त गरेका छन् । तानसेन नगरपालिकाले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्ने र नियमित अनुगमन गर्ने जनाएको छ । नगर प्रमुख श्रेष्ठले जनताको विश्वासलाई सम्मान गर्दै आयोजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो । तानसेन नगरपालिका–८, माथिल्लो डुम्रेदेखि तानसेन–१०, गुफा चौर हुँदै तानसेन–३, होलाङ्दीसम्म जोडिएको छ ।








































Comments