तानसेनको अमर नारायण मन्दिरमा १०८ धारा खुला, कालीगण्डकीको पवित्र जलबाट स्नानको व्यवस्था
तानसेन — पाल्पाको ऐतिहासिक तथा धार्मिक महत्वले भरिपुर्ण तानसेन नगरपालिका वडा , २ स्थित अमर नारायण मन्दिर परिसरमा निर्मित १०८ धारामा यस वर्षको साउन महिनाको व्रत प्रारम्भसँगै भोलिदेखि भक्तजनका लागि धारा खुला गरिने भएको छ । कालीगण्डकी नदीको पवित्र जल प्रयोग गरी भक्तजनलाई स्नानको व्यवस्था मिलाइएको नारायण युवा क्लबका अध्यक्ष प्रविन राज शाक्यले जानकारी दिनुभयो ।
नेपालको एक मात्र सालिग्राम पाइने पवित्र नदी कालीगण्डकीलाई हिन्दू धर्ममा अत्यन्तै उच्च स्थान दिइन्छ । विशेषगरी धार्मिक शास्त्रमा कालीगण्डकीको जललाई सबै पाप नाश गर्ने, पुण्य प्राप्त गराउने र मोक्षको मार्ग खोल्ने बताइएको छ । यही कारणले अमर नारायण मन्दिर परिसरमा कालीगण्डकीको पानी ल्याएर १०८ धारा निर्माण गरिएको र भक्तजनलाई स्थानीयस्तरमै यस पवित्र जलमा स्नान गर्ने सुविधा उपलब्ध गराइएको हो । क्लबका अध्यक्ष शाक्यका अनुसार, “कालीगण्डकीसम्म जान सबैलाई समय वा अवसर नहुन सक्छ । त्यसैले हामीले लिफ्टिङ प्रविधिमार्फत कालीगण्डकीको पवित्र जललाई यहाँसम्म ल्याएर १०८ धारामा जडान गरेका छौं । अब यहाँ स्नान गर्दा भक्तजनले कालीगण्डकीमा स्नान गरेसरह पुण्य प्राप्त गर्ने विश्वास छ।”
हाल १०८ धारामा तानसेन खानेपानी उपभोक्ता समितिले कालीगण्डकीबाट पाइपमार्फत लिफ्टिङ प्रणालीद्वारा पानी तानेको छ । सोही पानी अमर नारायणको १०८ धारामा जडान गरिएको छ । धार्मिक दृष्टिले समेत यो कार्यलाई महत्वपूर्ण मानिएको छ, किनकि कालीगण्डकीकै जलले नुहाउँदा पितृ तर्पणदेखि सबै पापमोचनसम्मका धार्मिक कर्मको विशेष महत्व रहेको हिन्दू धर्मग्रन्थमा उल्लेख छ । मन्दिर परिसरमा जडान गरिएको १०८ धाराको नजिकै शिवजीको विशाल लिङ्ग पनि स्थापना गरिएको छ। साउन महिनाभर शिवलिङ्गमा नियमित पूजाआजा तथा विशेष अनुष्ठान सञ्चालन हुने अमर नारायण मन्दिर भजन मण्डलीका अध्यक्ष सरस्वती शर्माले बताउनुभयो । उहाँका अनुसार साउन ५ गते भव्य भजनकीर्तनको समेत आयोजना गरिनेछ ।
साउन महिनामा विशेषगरी हिन्दू महिलाहरू आफ्ना श्रीमानको दीर्घायुको कामनाका साथ व्रत बस्ने परम्परा रहेको छ । साथै शिवका शक्तिपीठहरूमा गएर विशेष पूजाआराधना गर्ने चलन छ । यही धार्मिक महत्त्वलाई दृष्टिगत गर्दै अमर नारायण युवा क्लबले १०८ धारालाई भक्तजनका लागि खुला गर्ने र शिवलिङ्गमा विशेष पूजाआराधना गर्ने निर्णय गरेको हो । धार्मिक पर्यटक र भक्तजनका लागि यो एउटा अवसर हुनेछ, जहाँ उनीहरूले कालीगण्डकीको पवित्र जलमा स्नान गर्दै पुण्य आर्जन गर्न सक्नेछन्, त्यसमाथि तानसेनको ऐतिहासिक र सांस्कृतिक वातावरणको अनुभव पनि लिन पाउनेछन् । धार्मिक आस्थाका साथै पर्यटक आकर्षणको दृष्टिले समेत अमर नारायण मन्दिर परिसरमा स्थापित १०८ धारा र कालीगण्डकीको पवित्र जलको व्यवस्था महत्वपूर्ण पहिचान बन्ने विश्वास स्थानीयवासी र क्लबले व्यक्त गरेका छन् ।








































Comments