"तानसेनकाे अम्मरनारायण फुलबारीलाई पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्नुपर्नेमा जाेड”
पाल्पाको तानसेन स्थित अम्मरनारायण मन्दिर परिसरमा रहेको अम्मरनारायण फुलबारीलाई पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् । शुक्रबार फुलबारीमा आयाेजित सराेकारवालाहरूबीचकाे अनाैपचारीक अन्तरक्रिया कार्यक्रममा फुलबारीकाे संरक्षण गर्नुकासाथै थप साैन्दर्यकरण गर्नुपर्नेमा जाेड दिएका छन् ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेसलाल श्रेष्ठले अम्मरनारायण मन्दिर विश्व सम्पदा सुचिमा परेको जानकारी गराउदै त्यस क्षत्रकाे विकासका लागि नगरपालिकाले पहल गरिरहेको बताए । अम्मरनारायण मन्दिर र फुलबारीकाे संरक्षण र विकासका लागि स्थानीय बासिन्दाहरूनै अग्रसर हुनुपर्नेमा जाेड दिदै उनलेे त्यसको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले अमर नारायण फुलबारी दुई नम्बर वडाको मात्रै नभएर नगरपालिकाकै गहना भएको भन्दै त्यसको साैन्दर्यकरण र रेखदेखमा नगरपालिकाले अग्रसरता लिनुपर्ने बताए । फुलबारीलाई साैन्दर्यकरण गरि उचित रेखदेख गर्न सके पर्यटकीय गन्तव्यकाे रूपमा विकास हुनुका साथै भविष्यमा नगरपालिकाकाे आम्दानीको स्रोत बन्नसक्ने भएकोले त्यसको ब्यवस्थापनमा नगरपालिकाले बिशेष ध्यान दिनुपर्नेमा जाेड दिए ।
तानसेन नगरपालिका वडा नं २ काे आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा वडा नं २ का जनप्रतिनिधि,टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि,नारायण युवा क्लबका पदाधिकारी तथा सदस्यहरूले अमर नारायण मन्दिर परिसरमा रहेको अमर नारायण फुलबारीलाई साैन्दर्यकरण गरि त्यसको उचित संरक्षण गर्ने कार्यमा नगरपालिकाले बिशेष चासो दिनुपर्नेमा जाेड दिएका थिए ।








































Comments