तानसेन–१० तेल्घाको गुफाचौरमा नयाँ वर्ष अवसरमा खाना तथा पर्यटन महोत्सव सम्पन्न
पाल्पा जिल्लाको तानसेन नगरपालिका–१०, तेल्घास्थित रमणीय गुफाचौर क्षेत्रमा नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गरिएको खाना तथा पर्यटन महोत्सव सम्पन्न भएको छ । स्थानीय तहको सक्रिय पहल, विभिन्न संघसंस्था तथा स्थानीय बासिन्दाको सहकार्यमा सम्पन्न उक्त महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय परिकारको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूले बताएका छन् । हरियाली वातावरण, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण गुफाचौर क्षेत्रमा आयोजित कार्यक्रमले सयौं आन्तरिक पर्यटकहरूलाई आकर्षित गरेको थियो । महोत्सवमा स्थानीय परिकारका स्टलहरू, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू विशेष आकर्षणका रूपमा रहेका थिए ।
तानसेन वडा न १० का वडा अध्यक्ष हिमलाल पंगेनीले यस्ता कार्यक्रमहरूले स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने बताए । उनले गुफाचौर क्षेत्रलाई आगामी दिनमा थप व्यवस्थित गरी प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सकिने बताए । “हाम्रो क्षेत्र प्राकृतिक र सांस्कृतिक हिसाबले धनी छ, यसलाई चिनाउने माध्यम यस्ता महोत्सवहरू नै हुन्,” उनले भने,त्यस्तै स्थानीयवासी दशरथ अस्लामीले महोत्सवले गाउँको आर्थिक गतिविधि बढाउन मद्दत गरेको बताउँदै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । स्थानीय युवाहरू,संघ सस्थाहरू सहकार्यबाट कार्यक्रम गर्न सफल भएको बताउदै पर्यटकिय स्थल गुफा चौरको विकासका लागि देशका ३ तहका सरकारले ध्यान दिनुपर्ने बताए ।
यसैगरी अर्का स्थानीय कृष्ण रानाले महोत्सवले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने काम गरेको बताए । “हामीले आफ्नो पहिचान जोगाउन यस्ता कार्यक्रम आवश्यक छन्, यसले युवाहरूलाई पनि आकर्षित गर्छ,” उनले भने। महोत्सवमा राष्ट्रिय कलाकार शान्ति रानी परियार लगायतका कलाकारहरूको प्रस्तुति विशेष आकर्षण बनेको थियो । उनले प्रस्तुत गरेका लोक तथा दोहोरी गीतहरूले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । साथै अन्य स्थानीय कलाकारहरूले पनि नृत्य तथा सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै महोत्सवलाई थप जीवन्त बनाएका थिए ।
महोत्सवमा विशेषगरी स्थानीय खानाका परिकारहरू जस्तै गुन्द्रुक, सेल रोटी, फापरका परिकार, अचार प्रदर्शन तथा बिक्री गरिएको थियो, जसले आगन्तुकहरूलाई स्थानीय स्वादको अनुभव दिलाएको थियो । आगन्तुकहरूले स्थानीय उत्पादनप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यस्ता परिकारहरूको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए । गुफाचौरमा सम्पन्न उक्त महोत्सवले स्थानीय संस्कृति, परम्परा र पर्यटनलाई एकै साथ प्रवर्द्धन गर्दै नयाँ वर्षको उत्साहलाई थप उल्लासमय बनाएको सहभागीहरूको भनाइ रहेको छ ।








































Comments